
नेपालको कम्युनिस्ट आन्दोलन लामो संघर्ष, त्याग र जनताको विश्वासबाट निर्माण भएको गौरवपूर्ण इतिहास बोकेको आन्दोलन हो। यही आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने प्रमुख शक्तिका रूपमा रहेको के पी ओली नेतृत्वको नेकपा एमालेको वर्तमान अवस्थाबारे आज गम्भीर आत्मसमीक्षा आवश्यक भएको महसुस धेरै कार्यकर्ता, विद्यार्थी र युवाहरूले गरिरहेका छन्।
यदि सुरुदेखि नै पार्टीभित्र सबैलाई समेट्ने, गुटभन्दा माथि उठेर संगठनलाई एकताबद्ध बनाउने प्रयास सशक्त रूपमा गरिएको भए आज पार्टी र देशले यस्तो प्रकारको राजनीतिक संकट भोग्नुपर्ने अवस्था सम्भवतः आउने थिएन। राजनीतिक संगठनको मूल शक्ति सामूहिक नेतृत्व, विचारको बहस, विधिको पालन र कार्यकर्ताको सक्रिय सहभागितामा निहित हुन्छ। तर व्यवहारमा कतिपय अवस्थामा गुटीय सोच हावी भएको, व्यक्तिवाद बलियो बनेको तथा निर्णय प्रक्रियामा सीमित व्यक्तिहरूको प्रभाव देखिएको गुनासो कार्यकर्ता तहसम्म फैलिएको यथार्थलाई अस्वीकार गर्न सकिँदैन।
राजनीतिक दल कुनै निजी कम्पनी होइन। यो जनताको भरोसा, कार्यकर्ताको मेहनत र विचारको आधारमा चल्ने सार्वजनिक संस्था हो। तर पछिल्ला केही वर्षमा संगठनलाई कहिलेकाहीँ प्राइभेट लिमिटेड कम्पनीझैँ सीमित घेराभित्र सञ्चालन गरिएको अनुभूति धेरै कार्यकर्ताले गरेका छन्। युवाहरूलाई आन्दोलन र चुनावका बेला भर्याङको रूपमा प्रयोग गर्ने तर नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको आवाजलाई कमजोर बनाउने प्रवृत्ति दीर्घकालीन रूपमा संगठनकै भविष्यका लागि घातक बन्न सक्छ।
यसै सन्दर्भमा पार्टीभित्र व्यापक बहस, आत्मसमीक्षा र संरचनागत सुधारको आवश्यकता झनै प्रष्ट देखिन्छ। वर्तमान केन्द्रीय संरचना र नेतृत्व शैलीलाई पुनरावलोकन गर्दै नयाँ ऊर्जा, नयाँ सोच र युवा नेतृत्वलाई प्राथमिकता दिने गरी संगठन पुनर्गठन गर्नु समयको माग बनेको छ। विद्यार्थी आन्दोलन, युवा शक्ति र विभिन्न जनसंगठनहरूलाई वास्तविक रूपमा नेतृत्वको केन्द्रमा ल्याउन सकियो भने मात्र पार्टीलाई पुनः जीवन्त र गतिशील बनाउन सम्भव हुन्छ।
पार्टीप्रति निष्ठा राख्नु भनेको गलतलाई मौन समर्थन गर्नु होइन। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने साहस नै सच्चा राजनीतिक चेतनाको परिचायक हो। विचार, सिद्धान्त र जनताको विश्वासको रक्षा गर्न बोल्नु, बहस गर्नु र सुधारको माग गर्नु नै संगठनप्रतिको सच्चा निष्ठा हो।
यही सन्दर्भमा भदौ २३ र २४ गते भएको जेन्जी विद्रोहको क्रममा ७६ जना विद्यार्थीहरूले ज्यान गुमाउनुपरेको घटनाले देशको राजनीति र विद्यार्थी आन्दोलनलाई गम्भीर प्रश्नहरूका सामु उभ्याएको छ। उक्त समयमा देशको नेतृत्व केपी ओलीकै हातमा थियो। यस्तो गम्भीर घटनापछि सत्यतथ्य छानबिन, जिम्मेवारीको स्पष्टता र आत्मसमीक्षा अपेक्षित थियो। तर नेतृत्वबाट त्यस प्रकारको स्पष्ट राजनीतिक उत्तरदायित्व देखिन नसकेको अनुभूति धेरै कार्यकर्तामा देखिएको छ।
जब संगठनलाई सीमित व्यक्तिको नियन्त्रणमा राखेर सञ्चालन गरिन्छ, तब त्यो लोकतान्त्रिक राजनीतिक दलभन्दा बढी बन्द संरचनाजस्तो देखिन थाल्छ। यही प्रवृत्तिले संगठनभित्र असन्तोष, निराशा र वैचारिक दूरी बढाउने काम गर्छ।
यही पृष्ठभूमिमा पार्टीभित्र सुधारको आवश्यकता झनै प्रष्ट भएको महसुस गर्दै मैले भदौ २४ गते पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको मात्र होइन, साधारण सदस्य समेत नरहने निर्णय गरेको हुँ। यो निर्णय कुनै व्यक्तिगत आक्रोशको परिणाम होइन; बरु संगठनभित्र देखिएका संरचनागत समस्या, वैचारिक विचलन र लोकतान्त्रिक अभ्यासको कमजोर अवस्थाप्रति गरिएको एउटा वैचारिक असहमति र आत्मसम्मानको अभिव्यक्ति हो।
अन्ततः आजको आवश्यकता विभाजन होइन, सुधार हो; गुट होइन, एकता हो; व्यक्तिवाद होइन, सामूहिक नेतृत्व हो। युवाको ऊर्जा, विद्यार्थीको चेतना र कार्यकर्ताको विश्वासलाई केन्द्रमा राखेर संगठनलाई पुनर्गठन गर्न सकियो भने मात्र कुनै पनि राजनीतिक दल फेरि जनताको आशा र भरोसाको केन्द्र बन्न सक्छ।
निशा पुडासैनी
अनेरास्ववियु पुर्ब बागमती प्रदेश उपाध्यक्ष

