स्थानीय दुग्ध बिक्रीमा प्रति लिटर ५ रुपैयाँ उपभोक्ता राहत प्रोत्साहन छुट

मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आफ्ना उपभोक्ताहरुलाई संघको दुध बिक्री काउन्टरबाट बिक्री वितरण गर्दै आएको कच्चा होल दुधमा आम उपभोक्ता हित र हालको कोभिड १९ अर्थात् कोरोना भाइरसबाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रति लिटर रु. ५ का दरले उपभोक्ता राहत प्रोत्साहन छुट दिने निर्णय गरेको छ । र यो निर्णय यहि २०७७ साल जेठ १६ गतेबाट लागू हुने संघले जनाएको छ ।

यो निर्णय सँगै अब उपभोक्ताहरुले प्रति लिटर रु. ७० मा दुध पाउनेछन् साथै दुध खरिद सँगै पाउने १ लिटरको कुपन ३५ थान ल्याए बापत १ लिटर दुध उपलब्ध हुनेछ , साथै आधा लिटरको रु. ३५ पर्ने र ३५ थान कुपन बापत आधा लिटर नै दुध उपलब्ध हुनेछ । यसो हुँदा उपभोक्ताहरुलाई १ लिटर दुधको ६८ रुपैयाँ मात्र पर्न जानेछ । यसैगरी एक्कै पटकमा ५ लिटर भन्दा माथि दुध खरिद गर्दा प्रती लिटर रु. ६८ मा उपलब्ध हुनेछ साथै त्यस्तो खरिदमा ७० लिटर बराबर १ लिटर थप पाउनेछन् , त्यसो हुँदा एक्कैपटक ५ लिटर भन्दा माथि दुध खरिद गर्ने उपभोक्ताले प्रती लि. रु. ६७ मै पाउनेछन् । तर त्यसरी उपलब्ध हुने दुध प्राप्तिका लागि उपभोक्ताहरुले दुध खरिद गर्दा पाएको रसिद वा कुपन अनिवार्य ल्याउनु पर्ने बताईएको छ ।



हाल जिल्ला भरिमा सहकारी मार्फत दैनिक ४० हजार लिटर भन्दा माथि दुध संकलन हुँदै आएकोमा लकडाउन पश्चात् काठमाडौ , पोखरा लगायतका उद्योगहरुले भारी रुपमा दुध खरिदमा कटौती गर्नुका साथै कतिपय उद्योगहरुले पुर्णरुपमा खरिदमा कटौती गरेका तथा मकवानपुरमै रहेका डिडिसी , हेटौंडा डेरी लगायतका उद्योगहरुले समेत बिक्री असहजताका कारण दुध खरिदमा कटौती गरेकाले हाल दैनिक १२-१३ हजार लिटर मात्रै बिक्री सहजीकरण गर्न सकिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनु भएको छ । त्यसका लागि दुग्ध संकलनमा सहकारी संस्थाहरुलाई आलोपालो तरिकाले किसानहरुको दुध खरिदको ब्यवस्था मिलाइएको तथा असहज परिस्थितिको अन्त्य सँगै पुरानै हिसाबले मकवानपुरमा उत्पादन भएको दुधको खरिद – बिक्रीको सहजीकरण गरिने ब्यवस्थापक दाहालले बताउनु भयो ।



कोभिड १९ का कारण हरेक क्षेत्र जस्तै ब्यावसायिक रुपमा दुग्ध उत्पादन गर्ने किसानहरुलाई पनि ठूलो क्षती हुन पुगेको तथा विषम परिस्थितिको सामना गर्नु बाहेक हाललाई कुनै विकल्प नभएका कारण धैर्य गर्न संघका अध्यक्ष बासुदेव अधिकारीले अनुरोध गर्नु भएको छ । उहाँले दुध बिक्रीमा हर सम्भवको पहल गर्दा गर्दै पनि सम्भव नभै रहेको साथै रोगसँग सामना गरि बच्नुको विकल्प समेत नभएको बताउनु भएको छ ।

बिस्तारै देश दुधमा आत्मनिर्भर हुँदै गईरहेको बेला यस रोगका कारण किसानमा नैराश्यता उत्पन्न हुन सक्ने भन्दै दुध उत्पादन गर्ने किसानलाई राज्यले प्रती लिटर दुध उत्पादनमा राहत प्याकेज उपलब्ध गराउनु पर्ने केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनु भएको छ । रोगसँग लड्नका लागि दुध सेवनले धेरै नै सहयोग पुग्ने भन्दै निर्धक्क भएर दुधलाई राम्रोसँग उमाली पर्याप्त सेवन गर्न समेत अनुरोध गर्नुभएको छ ।

संघले चालु आ. व. को यो नौ महिनामा ७६ करोड ५३ लाख ७९ हजारको कारोबार गर्न सफल भएको छ ।





Flash News अर्थ रोचक विचार समाचार स्थानीय