नेपालको तीन खम्बे अर्थनीतिमा सहकारीको योगदान महत्वपूर्ण- मन्त्री श्रेष्ठ

२८चैत २०८०
बागमती प्रदेशका खानेपानी सिँचाई तथा ऊर्जामन्त्री एकलाल श्रेष्ठले देशको तीन खम्बे अर्थनीतिमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ।
मकवानपुर गढी गाउँपालिका वडा नम्बर ३ मक्राञ्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत महोत्सवको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले सरकारी निजी र सहकारीको योगदान रहेको हाम्रो देशको अर्थतन्त्रमा सहकारीको क्रियाकलापबाट मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याइरहेको बताउनुभएको हो।
“समुदायमा सहकारीको आर्थिक परिचालनले ग्रामीण क्षेत्रका महिलाहरू आर्थिक उत्पादनमा क्रियाशील हुनु खुसीको कुरा हो। महिलाहरुले आर्थिक गतिविधिलाई अगाडि बढाइरहेको र जीवनस्तरमा परिवर्तन पनि आएको छ।”यो सहकारी कै योगदान भएको मन्त्री श्रेष्ठले बताउनुभयो।
मन्त्री श्रेष्ठले सहकारीलाई अझै कसरी व्यवस्थित रुपमा अगाडि बढाउन सकिन्छ यसको आर्थिक क्रियाकलापलाई पारदर्शी र मजबुत बनाउँदै लैजानुपर्ने बताउनुभयो। अहिले मुलुकको अर्थतन्त्रमा संकट आएको छ। शिथिलता आएको छ। जोखिमहरू वृद्धि हुँदै गइरहेको भन्दै बैंकहरु र वित्तीय संस्थाहरु जस्तै सहकारीमा पनि अहिलेको वित्तीय संकटले प्रभाव पारिरहेको बताउनुभयो । उहाँले सहकारीमा आन्तरिक व्यवस्थापनको कमजोरी सहकारी नीतिलाई कडाईका साथ पालना नगर्दा पनि धेरै सहकारी डुबिरहेकाले सहकारीमा संलग्न रहेका सहकारीकर्मीहरूको विशेष ध्यानजना आवश्यक रहेको बताउनुभएको छ।
सहकारीमा संलग्न भएका शेयर सदस्यहरूले नै ऋण पाउने र नियमित रुपमा किस्ता बुझाउँदै गइरहेको अवस्थामा सहकारी बाँच्ने भएकाले सहकारी हाम्रो हो भन्ने भावना सिर्जना गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो।
मन्त्री श्रेष्ठले जागरण बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट सहकारी संस्थाको रुपमा आफूलाई स्थापित गर्दै अगाडि बढेको र ग्रामीण क्षेत्रका कृषि कर्ममा संलग्न महिलाहरूको आर्थिक गतिविधिलाई टेवा पुर्याइरहेको आफूले पाएको बताउनु भएको छ।
कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मकवानपुरको सहकारी क्षेत्रमा आफूलाई बलियो व्यावसायिक संस्थाको रुपमा खडा गरेको बताउनुभएको छ।
संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश संस्कृत पर्यटन तथा सहकारी मन्त्रालय सहकारी महाशाखाका रजिस्टार रोहित पोखरेल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सञ्चालक बिदुर हुमागाई लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Flash News Slide Uncategorized अर्थ राजनीति रोचक समाचार स्थानीय