वडाबाटै सामाजिक सुरक्षा भत्ता पाएपछि मकवानपुरगढीका ज्येष्ठ नागरिक खुशी


एमपी शर्मा
२१ बैशाख २०८१
मकवानपुरगढी गाउँपालिकाले वडाबाट सामाजिक सुरक्षा भत्ता बितरण गरेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ८ वटा वडा रहेको मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर–१, ७, ८ मा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो ।
वडा नम्बर–१ र ८ बाट बितरण सुरु गरिएकोमा हाल वडा नम्बर–७ मा पनि वडाबाट भत्ता बितरण गरिएको पालिका कार्यालयले जनाएको छ । भौगोलिक बिकटताका कारण बृद्ध र शारीरिक अशक्तता भएका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्न समस्या हुँदै आएको र गाडीभाडा महंगो तिर्नुपरेको, घण्टौंसम्म बैंकमा लाइन बस्नुपरेको भन्दै गुनासो गर्दै आएका थिए ।
भत्ता लिन बैंकसम्म आएर फर्किंदा प्रतिब्याक्ती ३ हजारसम्म खर्च हुने गरेकोमा वडा कार्यालयबाट भत्ता पाउँदा स्थानीय सरकार घर घरमा आएजस्तो अनुभूति भएको वडा नम्बर–७, सुकौराका टेकबहादुर मोक्तानले बताउनु भयो ।
पालिकाको वडा नम्बर–३ मा रहेको नबिल बैंकबाट बितरण हुँदैै आएको सामाजिक सुरक्षा भत्ता लिन आउन वृद्ध तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा कार्यालयबाट भत्ता बितरण सुरु गरिएको पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनु भयो । चालु आर्थिक वर्षको असारसम्म सबै वडाबाट भत्ता बितरण गर्ने लक्ष्य राखिएको अध्यक्ष स्याङ्तानले बताउनु भयो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ का १ सय ८० जना र वडा नम्बर–७ मा २ सय ६० जना लाभग्राहीलाई वडाबाट बितरण गरिएको र बैशाख २६ र २७ गते वडा नम्बर–१ का १ सय ९५ जना लाभग्राहीलाई भत्ता बितरण गर्ने पालिका प्रशासन शाखा प्रमुख रघुनाथ हुमागाईंले बताउनु भयो । लाभग्राहीको औंठाछापको स्क्यान गरी दर्ता गरिसकेपछि नबिल बैंकको जुनसुकै शाखाबाट लाभग्राहीले भत्ता लिन सक्ने व्यवस्था मिलाइएको प्रमुख हुमागाईंले बताउनु भयो । भत्ता बितरण कार्यक्रममा पालिका प्रशासन शाखा प्रमुख हुमागाईं,वडा नम्बर ७ का सचिव, बैंकका कर्मचारी, प्रहरीलगायतको उपस्थिति थियो ।

Flash News Slide Uncategorized अर्थ राजनीति समाचार स्थानीय