एमपी शर्मा
हेटौंडा – १ सय ४२ औ विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडा–१३, पदमपोखरीमा क्षयरोग प्रभावित र सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।
एमआरसी नेपालको आयोजना तथा पदमपोखरी स्वास्थ्य कार्यालयको सहकार्यमा भएको कार्यक्रममा क्षयरोगबाट प्रभावितमाथि समाजले हेर्ने दृष्टिबारे उनीहरुको अनुभव र राज्यले प्रदान गर्ने उपचारसेवाका विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा सेवाप्रदायक संस्थाका प्रतिनिधिहरुले क्षयरोग, यसबाट बच्ने उपाय, क्षयरोगीलाई राज्यले प्रवाह गर्ने सेवाबारे जानकारी गराएको एमआरसी नेपाल प्रमुख भरतबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा क्षयरोग प्रभावितलाई पोषणका रुपमा एक क्रेट अण्डा उपलब्ध गराइएको थियो । रोग प्रभावित क्षेत्रमा गरिएको कार्यक्रम प्रभावकारी भएको सहभागीले बताए । कार्यक्रममा २० जना क्षयरोग प्रभावित सहभागी थिए । दिवसको अवसरमा शनिबार पदमपोखरीमा सचेतनामूलक र्याली आयोजना गरिने एमआरसी नेपाल प्रमुख खड्काले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर–१३ का अध्यक्ष पेम्बा लामा, स्वास्थ्य कार्यालय पदम पोखरीका प्रमुख शेरबहादुर ब्लोन, हेटौंडा उपमहानगरस्वास्थ्य संयोजक भोला चौलागाईं, एमआरसी नेपाल प्रमुख खड्का, जन्त्रका सुजन थापा, क्षयरोग फोकलपर्सन पूर्णविक्रम अधिकारी, १३ नम्बर वडा महिला स्वयम्सेविका, एमआरसी नेपालका प्रतिनिधिको सहभागिता थियो ।
एमआरसी नेपालले स्टक टिबी पार्टनरसिपको आर्थिक सहयोगमा क्षयरोगविरुद्ध सचेतना फैलाउने कार्य गर्दै आएको छ । संस्थाले मकवानपुर, चितवन र काठमाडौंमा क्षयरोगको क्षेत्रमा काम गर्ने सेवाप्रदायक संस्थास“ग सहकार्य गर्दै सचेतनामूलक कार्य गर्दै आएको छ । नेपालमा सन् २०३५ सम्म क्षयरोगमुक्त बनाउन सचेतना फैलाउने गरी यस वर्ष विश्व क्षयरोग दिवस मनाउन लागिएको एमआरसी नेपाल प्रमुख खड्काले बताए ।
हरेक मार्च २४ मा मनाइने दिवस क्षयरोग दिवस यस वर्ष मार्च २२ मा मनाइएको छ । क्षयरोग विश्वभर फैलिएको एक संक्रामक रोग हो । क्षयरोगलाई अंग्रेजीमा ट्युबरक्लोसिस (टिबी) भन्ने गरिन्छ । सन् १८८२ मार्च २४ मा डा. रोबर्ट कोचले क्षयरोगका कीटाणु पत्ता लगाएका थिए । त्यसको सय वर्षपछि १९८२ मार्च २४ बाट दिवस विश्वभर मनाइँदै आएको छ ।
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्युलोसिस नामक ब्याक्टेरियाका कारण लाग्ने राष्ट्रिय क्षयरोग नियन्त्रण निर्देशक प्रज्ज्वल श्रेष्ठले जानकारी दिए । यसले फोक्सोमा सबभन्दा चाँडो आक्रमण गर्नुका साथै शरीरका अन्य भागमा पनि असर गर्न सक्दछ । क्षयरोग लागेका कुनै पनि व्यक्तिमा यसका कीटाणु सक्रिय छन् भने उसले श्वास फेर्दा, हाच्छिउ“ गर्दा वा खोक्दा निस्किने छिटाका माध्यमबाट हावामा फैलिएर अन्य व्यक्तिमा सर्ने गर्दछ ।
नेपालमा हुने क्षयरोगमध्ये ७५ प्रतिशत् फोक्सोको क्षयरोग हुने गरेको छ भने अन्य ग्रन्थी, हड्डी, पेट, मृर्गौला, मस्तिष्क, पाठेघर, कलेजो आदिको हुने गरेको पाइएको छ । सरकारले सन् २०३५ अर्थात् अबको ११ वर्षसम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ ।