१२ जेठ २०८१
मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर ३ मा रहेको भानु माध्यमिक विद्यालयका छात्राहरू हिजो आज क्रिकेट खेलका बारेमा कुरा गरिरहेको र विद्यालय छुट्टी भएको समयमा क्रिकेट खेलिरहेका भेटिन्छन्।
उनीहरू क्रिकेट राम्रो खेल्न सक्ने भएका छन्। तर विद्यालयमा क्रिकेट खेल्न राम्रो मैदान र पर्याप्त खेल सामग्री नहुँदा भने उनीहरू निराश छन्। ।
विद्यालयका छात्राहरूको क्रिकेटमा अत्यन्तै रुचि रहेपनि विद्यालयसँग क्रिकेट प्रशिक्षक नरहेको र पर्याप्त खेल सामग्री समेत उपलब्ध गराउन नसकेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले बताउनुभयो।
क्रिकेट खेलको लागि विद्यालयमा क्रिकेटको इन्फास्ट्रक्चर निर्माण गर्न स्थानीय तह र मकवानपुर गढी क्रिकेट क्लबसँग समन्वय भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो “क्रिकेट प्रशिक्षकै व्यवस्था भइदियो भने नानीबाबुहरू अत्यन्तै लाभान्वित हुने छन आगामी दिनमा खेलमा रुचि रहेका विद्यार्थी र उनीहरूको सीप अनुसार खेल सुधार गर्नका लागि पनि विद्यालय प्रशासनले समयतालिका मिलाइदिने अभिभावकसँग कोअर्डिनेसन गरेर विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने काममा सधैं लागिपर्ने छौँ।”
मकवानपुर गढी क्रिकेट क्लबका सचिव रविन्द्रविक्रम सापकोटाले क्रिकेटका लागि चौर कै अभाव रहेकाले चौर नभएका ठाउँमा तत्काललाई नेट राखेर बलिङ र ब्याटिङको प्राक्टिस गराउने र चौरको निर्माणको लागि स्थानीय तहसँग बजेट माग गर्ने बताउनुभएको छ।
मकवानपुर गढी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिदुर हुमागाईले छात्राहरूमा क्रिकेटको रुचि रहेकाले छात्रा टिम तयार पारेर प्रशिक्षण दिने बताउनुभएको छ। क्रिकेट खेलका लागि वडा कार्यालयले पनि खेल सामग्री उपलब्ध गराउने र छात्रा क्रिकेट टिमलाई प्रशिक्षणका लागि जिल्ला क्रिकेट संघसँग पनि समन्वय गर्ने बताउनु भएको छ।

भानु मा वि का छात्राहरूमा क्रिकेट मोह,खेल मैदान र खेल सामग्रीको भने अभाव
