१ असार २०८१
मकवानपुर गढी ३ मक्राञ्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको आयोजना र पशुसेवा कार्यालयको अनुदान सहयोगमा १५ जना किसानलाई ५०% अनुदानमा कृषि यन्त्र च्याप कटर वितरण गरिएको छ।
संस्थाले शनिबार सार्वजनिक सुनाई कार्यक्रम गरेर किसानलाई च्याप कटर वितरण गरेको हो। पशुपालक किसानलाई पशुपालन र व्यवसायिक प्रवर्धनका लागि सहज होस् भनेर च्याप कटर वितरण गरिएको संस्थाकी अध्यक्ष निर्मला लम्सालले जानकारी दिनुभयो।
३६,००० रुपैया पर्ने च्याप्टर किसानको ५०% र पशुसेवा कार्यालयको ५०% अनुदानमा १५ जना किसानलाई प्रदान गरिएको हो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङतानले सहकारी संस्थाले पशु सेवा कार्यालयसँग समन्वय गरेर किसानलाई यन्त्र उपकरण वितरण गरेर प्रशंसनीय कार्य गरेको बताउनुभएको छ।
पशुसेवा कार्यालयका डक्टर मदन भण्डारीले वितरण गरिएको उपकरणको सही सदुपयोग गर्न किसानहरूलाई आग्रह गर्नुभएको छ।
मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङतानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष निर्मला लम्सालको अध्यक्षता र पशुसेवा कार्यालयका डाक्टर मदन भण्डारीको विशेष आथितामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य बिदुर हुमागाई, रानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने,मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहाल बृहत खानेपानी आयोजनाका सचिव कृष्णप्रसाद पोखरेल लगायतकाको आतिथ्यता रहेको थियो।
संस्थाले यसअघि पनि विपन्न किसानहरूलाई गाई वितरण बाख्रा वितरण र खोर निर्माण लगायतका कार्यक्रम गरी किसानहरूलाई सहयोग गर्दै आएको संस्थाकी व्यवस्थापक गीता लम्सालले जानकारी दिनुभयो।