एमपी शर्मा
२५ साउन २०८२-मकवानपुरगढी- दोस्रो जनआन्दोलन २०६२-०६३ का मकवानपुरे सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको गम्भीर स्वास्थ्य समस्याका कारण चितवन मेडिकल कलेज (सीएमसी) को सघन उपचारकक्ष (आईसीयु) मा उपचार भइरहेको छ।
मकवानपुरगढी गाउँपालिका–५ निवासी करिब ८७ वर्षीय घिमिरेलाई हेटांैडामा उपचार सम्भव नभएपछि चितवन रिफर गरिएको हो । परिवारका अनुसार उनको छातिमा पानी जमेको र संक्रमण फैलिएको छ । चिकित्सकहरुले तत्काल शल्यक्रिया (अपरेसन) गर्नुपर्ने बताएका छन् । तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या उत्पन्न भएको छ ।
घिमिरेका नाति रञ्जन घिमिरेका अनुसार हजुरबुबाको स्वास्थ्य दिनप्रतिदिन जटिल बन्दै गएको छ । चिकित्सकहरुले तत्काल अपरेसन गर्नुपर्छ भनेका छन् ।
जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदको परिवारप्रति राज्यले विशेष जिम्मेवारी लिनुपर्ने मानिन्छ । तर, सहिदका परिवारका सदस्य जीवन र मृत्युको दोसाँधमा पुग्दासमेत उपचार खर्च अभाव हुनुले राज्यप्रतिको भरोसा कमजोर हुने चिन्ता उब्जाएको छ ।

बासुदेव घिमिरेले लोकतान्त्रिक जनआन्दोलन २०६२-०६३ को क्रममा आफ्नो प्राणको आहुति दिएका थिए । उनको बलिदानले नेपाली समाजमा लोकतन्त्रको मूल्य र नागरिक अधिकार सम्मानका लागि महत्वपूर्ण योगदान पु¥याएको छ । घिमिरे २०३२ भदौ २५ गते मकवानपुरको सबिक आमभञ्ज्याङ गाविस–६, पानीघाट (हाल मकवानपुरगढी–५) मा जन्मिएका हुन् । उनले २०६३ बैशाख ७ गते काठमाडौंको कलंकीमा शहादत प्राप्त गरेका थिए ।
घिमिरे मकवानपुरका एक सामान्य परिवारका सदस्य थिए । २०६२ चैतमा जनआन्दोलनको लहरमा उनी काठमाडौं कलंकीमा सक्रिय सहभागी थिए । शहादतपछि घिमिरेलाई नेपाल सरकारले जनआन्दोलनका सहिदका रुपमा सम्मानित ग¥यो । उनको स्मृतिमा मकवानपुरगढी गाउँपालिकाले प्रतिमा स्थापना गर्ने निर्णय गरेको थियो । तर, बजेट अभाव र प्रशासनिक जटिलताका कारण प्रतिमा स्थापनामा ढिलाइ भएको छ ।
सहिद बासुदेवको नाममा हेटौंडामा बनाइने भनेर ठड्याइएको सभागृहको नामोनिशान मेटिएको छ । हेटौंडामा पहिलो १३ तले भवन निर्माण हुने निश्चित भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, हुप्रचौरमा १३ तले बहुउद्धेश्यीय भवन निर्माणका लागि सम्झौता गरिएको हो ।
२०६३ सालमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको पहलमा निर्माण सुरु भएको सभागृहको नाम ‘ज्ञानेन्द्र सभागृह’ राखिएको थियो । जनआन्दोलनपछि मकवानपुरका सहिद बासुदेव घिमिरेको नाममा नामाकरण गरिएको थियो । जुन हाल भत्काइएको छ, जहाँ अब ठूलो व्यापारिक भवन बन्नेछ ।

