
२४ साउन, हेटौंडा ।
हेटौंडा उपमहानगरपालिका–१८, गुम्बाडाँडास्थित ज्योति सामुदायिक वन उपभोक्ता समूहको सभाहलसहितको नवनिर्मित कार्यालय भवनको उद्धघाटन गरिएको छ। शुक्रबार आयोजित एक विशेष समारोहबीच डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रवंशीले भवनको उद्धघाटन गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि चन्द्रवंशीले लागत अनुमानभन्दा २० प्रतिशत कम खर्चमा गुणस्तरीय निर्माण सम्पन्न भएकोमा समूहलाई बधाई ज्ञापन गर्दै सामुदायिक वनले आर्जन गरेको आम्दानीलाई वन संरक्षण, सीप विकास, महिला सशक्तिकरण र गरिबी निवारणमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले खाली जमिनमा उत्पादनमूलक तथा आयआर्जनमुखी कार्यक्रम ल्याए वन कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्नुभयो।
समारोहमा सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा अध्यक्ष शुम्भु प्रसाद न्यौपानेले भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आम्दानीका वैकल्पिक स्रोत पहिचान गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको क्रममा पूर्व वन संरक्षण समिति अध्यक्ष शिव बहादुर रिजाल र स्वर्गीय पहिलो अध्यक्ष भीमलाल श्रेष्ठकी धर्मपत्नी भगवती श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, समूह अन्तर्गत रहेका न्यून आर्थिक अवस्था भएका ११ जना उपभोक्ताहरुलाई खाद्यान्न वितरण समेत गरिएको थियो।
समूह अध्यक्ष रामबाबु खतिवडाले करिब ६८ लाख रुपैयाँको लागतमा सभाहलसहितको कार्यालय भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार, सटर भाडाबाट समेत आम्दानी लिने लक्ष्य रहेको छ।
कार्यक्रममा नेकपा एमाले वडा नम्बर १८ का उपाध्यक्ष विश्वनाथ ढुंगाना, विभिन्न टोल विकास संस्था, सामुदायिक वन समूह तथा सहकारी संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उपाध्यक्ष रेखा खतिवडाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सयौं उपभोक्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन समूहका लेखा समिति संयोजक इमान बहादुर थापाले गर्नुभएको थियो।

