नेपाल तामाङ घे सोनाम ल्होछारको अवसरमा मकवानपुरगढीमा वृहत् सांस्कृतिक कार्यक्रम हुने

१६ पौष २०८२

नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ ।

मंगलबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको हो । उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिनुभयो। तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताउनुभयो ।

यसैगरी तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ । साथै विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, ताम्बा–डम्फुरेको प्रस्तुति तथा लामाद्वारा विधिपूर्वक पूजा गरिने उपाध्यक्ष योञ्जनले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको र वडा नम्बर १ कार्यालयले विशेष सहयोग गरेको आर्थिक संयाेजक राज स्याङ्तानले जानकारी दिनुभयो ।

आयोजकका अनुसार कार्यक्रम सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रममा गाउँपालिकाको कृषि शाखाले रैथाने बाली, कोदो, फापर, गहुँ लगायतका परिकारको स्टल राखी प्रदर्शन गरिने छ । पत्रकार सम्मेलनमा वडा नम्बर १ का वडा अध्यक्ष आइत सिंह लो , समितिका सल्लाहकार आकाश गोले, राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *