हेटौंडा। मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ३१औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा रहेको संघको साधारणसभा संघका अध्यक्ष हरि प्रसाद कडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो।
साधारणसभा भीमफेदी गाउँपालिका–१ मा अवस्थित संघअन्तर्गत सञ्चालनमा रहेको उद्योग परिसरमा आयोजना गरिएको थियो। सभामा धेरै दुग्ध बिक्री गर्ने ३ वटा संस्था, गुणस्तरीय दुग्ध बिक्री गर्ने ३ वटा संस्था, धेरै दूध पदार्थ खरिद गर्ने १ संस्था, विभिन्न प्रकारका दूध पदार्थ खरिद गर्ने १ संस्था तथा संघका ४ जना पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा अध्यक्ष हरि प्रसाद कडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। लेखा समितिका संयोजक वीरबहादुर लामाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे भने निमित्त व्यवस्थापक दामोदर अधिकारीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम लेखापाल सन्तोष घिमिरेले प्रस्तुत गरेका थिए।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा संघले १ अर्ब ८५ करोड ४ लाख ३६ हजार ७८६ रुपैयाँको कारोबार गरेको छ। दूध बिक्रीबाट १ अर्ब ५९ करोड ९ लाख ५६ हजार ४७१ रुपैयाँ आम्दानी भएको जनाइएको छ। किसानलाई भुक्तानी गर्न ३६ करोड ५७ लाख १ हजार ८६८ रुपैयाँ अझै बाँकी रहेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २२ करोड ४६ लाख १ हजार ९०९ रुपैयाँ खर्च अनुमान गरिएको छ।
अध्यक्ष कडेलले सहकारीको मुख्य समस्या नियमित दूध बिक्री नहुनु तथा दूधको भुक्तानी समयमै नआउनु रहेको उल्लेख गर्दै ती समस्या समाधानका उपायहरू पनि प्रस्तुत गरेका थिए।
गोविन्द तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकारहरू नारायण प्रसाद देवकोटा, विदुर हुमागाईं, बद्री प्रसाद लम्साल, खिल प्रसाद चौलागाईं, सञ्चालक समिति अध्यक्ष बासुदेव अधिकारी, समिति सदस्यहरू तथा विभिन्न दुग्ध संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

