हेटौंडा, पौष २०
बकैयालाई बालविवाहमुक्त गाउँपालिका बनाउने उद्देश्यसहित बालविवाहविरुद्ध सामूहिक प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ। बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल तथा बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा र सामाजिक विकास संयोजक गोपालबहादुर न्यासुर विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी कार्यक्रममा स्वतन्त्रता अभियानका सिनियर कार्यक्रम प्रबन्धक प्रतीक्षा केसी, गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख फटिक रमण प्याकुरेल, महिला विकास निरीक्षक होमकुमारी सञ्जेल, वरिष्ठ शिक्षा अधिकृत ईतराम तामाङ, रोजगार संयोजक रामचन्द्र खड्का, मनोसामाजिक परामर्शकर्ता शान्ति स्याङ्बो लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम बकैया गाउँपालिका, बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल नेपाल (GNB नेपाल), स्वतन्त्रता अभियान नेपाल र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा बालविवाह, उमेर नपुगी हुने विवाह तथा जबर्जस्ती विवाहविरुद्ध हस्ताक्षर गर्दै सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बकैयाबाट बालविवाह अन्त्य गर्ने अभियान सञ्चालन भइरहेको बताउँदै किशोरी लक्षित सशक्तीकरण कार्यक्रममार्फत उनीहरूलाई स्वयं बालविवाह नगर्ने निर्णय गर्न सक्षम बनाइँदै आएको जानकारी दिनुभयो। उहाँले बालविवाह, उमेर नपुगी हुने विवाह र जबर्जस्ती विवाह अन्त्यका लागि प्रतिबद्धतामा हस्ताक्षर गर्नुभयो।
उपाध्यक्ष भक्तबहादुर खत्रीले बालविवाह अन्त्य चुनौतीपूर्ण भए पनि किशोरी तथा बालिकाको अधिकार संरक्षणका लागि यस्ता कार्यक्रम अपरिहार्य रहेको बताउनुभयो।
बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल नेपालका राष्ट्रिय अध्यक्ष प्रकाश खतिवडाले बालविवाह अन्त्यका लागि बहुक्षेत्रीय अवधारणा तथा लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिनुभयो।
सामाजिक विकास संयोजक गोपालबहादुर न्यासुरले टोल विकास संस्था, आमा समूह तथा बाल क्लबलाई व्यापक रूपमा परिचालन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
कार्यक्रममा वक्ताहरूले नेपालमा बालविवाह गैरकानुनी रहेको उल्लेख गर्दै बालविवाहका कारण बालबालिकाको संरक्षण अधिकार हनन हुनुका साथै शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर नकारात्मक असर पर्ने बताएका थिए। त्यसका लागि नागरिक समाज संस्था र स्थानीय सरकारबीच कार्यगत एकता आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा उपस्थित स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय बाल अधिकार समिति, शिक्षक, व्यवसायी, महिला समूह, टोल विकास समूह, पत्रकार, नागरिक समाज संस्था तथा बालमैत्री सहजकर्ताहरूले सबैको सहकार्यमा बकैया गाउँपालिकालाई निरन्तर रूपमा बालविवाहमुक्त पालिका बनाइराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

