मकवानपुर जिल्ला दुग्ध सहकारी संघको ३१औँ वार्षिक साधारणसभा सम्पन्न

२०पौष २०८२
हेटौंडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ३१औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। संघका अध्यक्ष हरिप्रसाद कडेलको सभाध्यक्षतामा सम्पन्न साधारणसभा भीमफेदी गाउँपालिका–१ मा अवस्थित संघअन्तर्गत सञ्चालनमा रहेको दुग्ध उद्योग परिसरमा आयोजना गरिएको थियो।
साधारणसभाले अध्यक्ष कडेलले प्रस्तुत गर्नुभएको आगामी नीति तथा कार्यक्रमसहितको वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक वीरबहादुर लामाले प्रस्तुत गर्नुभएको लेखा समिति प्रतिवेदन तथा निमित्त व्यवस्थापक दामोदर अधिकारीले प्रस्तुत गर्नुभएको लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ। साथै लेखापाल सन्तोष घिमिरेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम पनि सभाले अनुमोदन गरेको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा संघले १ अर्ब ८५ करोड ४ लाख ३६ हजार ७८६ रुपैयाँ बराबरको कारोबार गरेको छ। दूध बिक्रीबाट १ अर्ब ५९ करोड ९ लाख ५६ हजार ४७१ रुपैयाँ आम्दानी भएको उल्लेख छ। यस्तै, किसानलाई भुक्तानी गर्न ३६ करोड ५७ लाख १ हजार ८६८ रुपैयाँ अझै बाँकी रहेको जनाइएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघले १ अर्ब २२ करोड ४६ लाख १ हजार ९०९ रुपैयाँ खर्च अनुमान गरेको छ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष कडेलले नियमित दूध बिक्री नहुनु र दूधको भुक्तानी समयमै नआउनु संघका मुख्य चुनौती रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि संघले सक्रिय पहल गरिरहेको बताउनुभयो।
साधारणसभाकै अवसरमा उत्कृष्ट कार्य गर्ने सहकारी संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सबैभन्दा बढी दूध बिक्री गर्ने सहकारी संस्थातर्फ चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडा–१७, चिसापानी, मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. मकवानपुरगढी–३, मक्रान्चुली र उज्वल दुग्ध उत्पादक सहकारी संस्था लि. मकवानपुरगढी–५ लाई क्रमशः नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
गुणस्तरीय दूध बिक्री गर्ने सहकारी संस्थातर्फ अमूल्य कृषि सहकारी संस्था लि. भीमफेदी–७, कोगटे, बाराही दुग्ध उत्पादक सहकारी संस्था लि. भीमफेदी–५, दमार र पाथीभरा दुग्ध उत्पादक सहकारी संस्था लि. बागमती पुरस्कृत भएका छन्।
संघद्वारा उत्पादित दुग्धजन्य पदार्थ धेरै बिक्री गर्ने सहकारी संस्थातर्फ चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडा–१७, चिसापानी, किसान दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडा–१७, हटिया र नारायणी दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडा–६, हत्तिलेट लाई सम्मान गरिएको थियो।
त्यस्तै, विभिन्न प्रकारका दुग्धजन्य पदार्थ बिक्री गरी बजारीकरणमा विशेष योगदान पुर्‍याएको भन्दै महाकाली दुग्ध उत्पादक सहकारी संस्था लि. मकवानपुरगढी–२, बासपानी लाई विशेष पुरस्कार प्रदान गरिएको थियो।
यसै अवसरमा संघका पूर्व तथा सेवानिवृत्त कर्मचारीहरू बिदुर हुमागाईं, उमेरहदका कारण सेवा निवृत्त निवर्तमान व्यवस्थापक कुमारमणि दाहाल, डेरी ब्वाई तोयानाथ पुडासैनी र सरसफाइ कर्मचारी कान्छीमाया देउला लाई सम्मान गरिएको थियो।
कार्यक्रममा संघका सल्लाहकारहरू नारायणप्रसाद देवकोटा, विदुर हुमागाईं, बद्रीप्रसाद लम्साल, खिलप्रसाद चौलागाईं, निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, समिति सदस्यहरू तथा संघमा आबद्ध विभिन्न दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संघका कर्मचारी गोविन्दप्रसाद तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा हाल संघमा ५६ वटा दुग्ध सहकारी संस्था आबद्ध रहेको र दैनिक करिब ६० हजार लिटर दूध संकलन हुने जानकारी दिइयो। संघले करिब ३ हजार लिटर दूध आफ्नै उद्योगबाट प्रशोधन गरी दुग्धजन्य पदार्थ उत्पादन गरेर हेटौंडाका चौकिटोल, भैरवरोड र पशुपति मन्दिररोडस्थित बिक्री काउन्टरमार्फत उपभोक्तासम्म पुर्‍याइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *