मकवानपुर / नेपाली कम्युनिष्ट पार्टीले मकवानपुरको बकैया गाउँपालिका–८ बस्तिपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय मतदाताको उल्लेखनीय सहभागिता देखिएको थियो।
बिक्रम योन्जन र प्रेमबहादुर गोलेको उपस्थितिमा सम्पन्न कार्यक्रममा ईन्द्रबहादुर दोङ्गले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सहभागी स्थानीयहरूले बकैया गाउँपालिकाका स्थानीय उम्मेदवार विजय गौतमलाई चुनाव चिन्ह ‘तारा’मा मतदान गरी जिताउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले एमाले र कांग्रेसका पुराना नेताहरूले वर्षौँदेखि आश्वासन मात्रै बाँडेको आरोप लगाउँदै, यसअघि जितेका कतिपय नेताहरू गाउँमा नफर्किएको गुनासो समेत व्यक्त गरे। अब युवालाई अवसर दिनुपर्ने र व्यक्तिगत रूपमा विजय गौतम उत्कृष्ट उम्मेदवार भएको धारणा सहभागीहरूले राखेका थिए। आफ्नै पालिकाको स्थानीय उम्मेदवार भएकाले जिताउन थप उत्साहित भएको उनीहरूको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमले आफू यहीँ पढेको, हुर्केको र कर्मभूमि यहीँ रहेको उल्लेख गर्दै स्थानीय समस्याको समाधान स्थानीयकै नेतृत्वबाट सम्भव हुने बताए। उनले यो निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा नभई क्षेत्र र देश बदल्ने अभियान भएको भन्दै घर–घरमा पुगेर परिवर्तनको सन्देश फैलाउन कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्य तथा हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, नेपाली कम्युनिस्ट नेतृ लक्ष्मी माझी ‘कृपा’, पार्टी बकैया गाउँपालिका संयोजक बिमल नेपाल, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्ध लामा, प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी र बकैया–८ का वडा अध्यक्ष विष्णु नेगी ‘विश्वास’ लगायतका नेताहरूले पनि सम्बोधन गरे।
नेताहरूले संगठनलाई टोल–टोल र घर–घरमा विस्तार गर्दै अभियानलाई तीव्र बनाउने आवश्यकता औँल्याए। उनीहरूले स्थानीय उम्मेदवार विजय गौतमको पक्षमा माहोल बन्दै गएको उल्लेख गर्दै, बाँकी समयलाई अधिकतम सदुपयोग गरेर मतदातासँग प्रत्यक्ष संवाद गर्न कार्यकर्तालाई आह्वान गरे।
कार्यक्रममा देखिएको जनसहभागिता र उत्साहले बकैया क्षेत्रमा विजय गौतमको पक्षमा चुनावी माहोल थप बलियो बन्दै गएको संकेत गरेको छ।

