मकवानपुर / नेपाली कम्युनिष्ट पार्टीले मकवानपुरगढी गाउँपालिकाको विभिन्न वडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय मतदाताको उल्लेखनीय सहभागिता देखिएको थियो।
मकवानपुरगढी गाउँपालिका–४ कालिखोलामा बिक्रम योन्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजकुमार खड्काले स्वागत मन्तव्य राखेका थिए। त्यसैगरी, गाउँपालिका–२ को बासपानी कुर्लेमा गङ्गा थापाको अध्यक्षतामा र गाउँपालिका–१ आपधापमा बिकलाल लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले युवा उम्मेदवार बिजय गौतमलाई चुनाव चिन्ह ‘तारा’मा मतदान गरी जिताउने प्रतिबद्धता व्यक्त गरे। सहभागीहरूले एमाले र कांग्रेसका पुराना नेताहरूले बर्षौँदेखि आश्वासन मात्रै बाँडेको आरोप लगाउँदै अब व्यवहारमा काम गर्ने युवालाई अवसर दिनुपर्ने बताएका थिए। धेरैले बिजय गौतमलाई व्यक्तिगत रूपमा सक्षम र भरोसायोग्य उम्मेदवार भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमले अहिलेको चुनाव पुरानो शैलीको राजनीति बदल्ने अवसर भएको बताए। उनले भने, “जनताले अब भाषण होइन, परिणाम खोजिरहेका छन्। यो क्षेत्रका समस्या तपाईं–हामी सबैलाई थाहा छन्, अब ती समस्या समाधान गर्ने जिम्मेवारीबाट कोही पनि पन्छिन पाउँदैन।”
गौतमले आफू जनताकै बीचबाट आएको उम्मेदवार भएको उल्लेख गर्दै पार्टीको एजेन्डा लिएर घर–घरमा पुग्ने अभियानलाई अझ तीव्र बनाइने बताए। “म कुनै टाढाको नेता होइन, यही माटोमा हुर्किएको तपाईंहरुकै साथी हुँ। तपाईंहरूको भरोसालाई काम र व्यवहारबाट प्रमाणित गर्ने मेरो प्रतिबद्धता हो,” उनले भने।
उनले सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्था आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै उत्पीडित वर्ग, पछाडि पारिएका समुदाय र श्रमिक–किसानका पक्षमा नीतिगत परिवर्तनका लागि संघर्ष गर्ने बताए।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, केन्द्रीय सदस्य सर्केश घलान र पार्टी मकवानपुर संयोजक भीम पाख्रिनलगायतका नेताहरूले पनि सम्बोधन गर्दै संगठन मजबुत बनाउँदै घरदैलो अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
नेताहरूले अब समय कम रहेकाले वडा–वडा, टोल–टोल र घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताए। कार्यक्रममा देखिएको जनसहभागिताले मकवानपुरगढी क्षेत्रमा विजय गौतमको पक्षमा चुनावी माहोल क्रमशः बलियो बन्दै गएको संकेत गरेको छ।

