
मकवानपुरगढी । किसानले लगाएको बालीमा मल हाल्नी बेलामा मकवानपुरमा युरिया मलको अभाव भएको छ ।
मल पाउने आशामा लाइनमा बस्दा जम्मा ५ किलो मात्र मल पाएको मकवानपुरगढी गाउँपालिका वडा नं ३ का किसान अनिता पन्तले बताउनु भयो । हिजो अबेला मल आएको खबर पाई आज बिहान ९ बजे नै लाइनमा पालो कुरि बस्दा आफुले पनि १५ किलो मात्र मल पाएको अर्का किसान मकवानपुरगढी वडा नं ४ निवासी खिल प्रसाद चौलागाईंले बताउनु भएको छ ।

जम्मा २ टन मल पाउँदा १ टन वडा नं ७ सुकौरामा पठाई १ टन मात्र यहाँ ल्याउन पाईएको र सोही मल किसानलाई सहुलियत दरमा आफ्नो संस्थाबाट वितरण गरिएको मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष जानकी दाहालले बताउनु भयो ।
मल आएको खबर पाएपछि बिहान १० बजे नै किसानहरुको ठूलो उपस्थिति हुँदा मल वितरणमा केही असहजताका बाबजुद जम्मा २० बोरा मल ९१ जनालाई बाढ्नु परेकाले किसानले चाहे जति मल उपलब्ध गराउन नसकिएको तथा अलि ढिला गरि आउने किसानलाई त भागै पुर्याउन नसकेको संस्थाकी ब्यवस्थापक शुभद्रा घिमिरे बताउनु हुन्छ ।

उता कृषि सामाग्री कम्पनी हेटौंडाका सुुुचना अधिकारी छवि शर्मा धितालले चाहिएको परिमाणमा मल उपलब्ध हुन नसक्दा मल चाहिने बेलामा पनि वितरण गर्न नसकिएको तथा खरिद गरिएको मल उपलब्ध हुन अझै केही समय लाग्ने बताउनु भएको छ । तर डिएपी र पोटास मल भने अहिले पनि भण्डारणमा भएकाले माग भए उपलब्ध गराउन सकिने धितालले बताउनु भएको छ ।
यो आवमा करिब २१ सय मेट्रीक टन आयात गरिएको तथा लकडाउन पश्चात् करिब १ हजार ५ सय मेट्रीक टन मल आयात गरिएको धितालको भनाई रहेको छ ।
यसैबीच साल्ट ट्रेडिङ कम्पनीले खरिद गरेको मल भने केही दिन मै हेटौंडामा आईपुग्ने बताईएको छ ।
सरकारले कृषिमा देशलाई आत्मानिर्भर बनाउने भनेर घोषण गरिरहँदा मल हाल्ने बेलामा मल नपाउँदा सोचे जस्तो बाली उत्पादन हुन नसक्ने किसानहरुको गुनासो रहेको छ ।
