मुख्यमन्त्री पौडेलद्वारा मकवानपुरगढीको ज्यामिरे खोला पक्की पुल उद्घाटन

 मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ ज्यामिरेखोला वारपार गर्नका लागि निर्माण गरिएको पक्की पुलको आज उद्घाटन् गरिएको छ । गाउँपालिका, संघीय सरकार र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको पुलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुलको उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हाल सम्म प्रदेश सरकारले ६२ वटा पुल निर्माणको काम गरिसकेको वताउनुभयो । बिकास भनेको एकै रातमा नहुने वताँदै उहाँले भन्नुभयो–‘साढे तीन वर्ष अगाडी स्थापना भएको प्रदेश सरकारले चार सय किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ । विकासका काम भनेको कहिले पनि ढुङ्गीदैन । ठुला मुलुकमा पनि विकासको काम सकिएको छैन ।’

अहिलेको अवस्थामा सबै क्षेत्रमा विकासले गति लिएको उहाँले वताउनुभयो । अझै आफुहरुले नेतृत्व लिएका स्थानमा विकासले गति लिएको वताउनुभयो । कृषि क्षेत्रमा प्रदेश सरकारले धेरै काम गरेको वताउनुभयो । यस क्षेत्रमा उत्पादन गरेका वस्तुलाई बजार सम्म लैजान सकिएन भने सडकको महत्व नहुने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले पुल निर्माण भएपछी यस क्षेत्रमा धेरै सहज भएको वताउनुभयो । पहिलेको तुलनामा यस क्षेत्रमा अहिले धेरै विकास भएको वताउनुभयो । कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका पूर्व उपसभापति बद्री लंसाल, मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष जितबहादुर घिमिरे, वडा नम्बर–६ का अध्यक्ष टिका दाहाल लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । ज्यामिरे खोलाको पक्की पुल ३ करोड ११ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।

ज्यामिरेको पक्की पुल संघिय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र गाउँपालिकाको आन्तरीक श्रोतबाट २ करोड १८ हजार १६९ गरी कुल ३ करोड १९ लाख ८२ हजार ४ सय ८८ रुपैँया लागतमा निर्माण भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईले बताउनुभयो । निर्माण भएको पुलको लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ ।

पुल निर्माणपछि गाउँपालिकाका वडा नं. ५ र ६ का बासिन्दा लाभान्वित भएका छन् । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले ज्यामिरे खोलामा वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै स्थानीयबासीलाई यात्रा गर्न सहज हुने भएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु, विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

जनपत्र अनलाईनबाट

Flash News समाचार