३ असोज २०७९- मकवानपुरगढी गाउँपालिका वडा न.४ कालिखोलामा रहेको अपाङ तथा विपन्न सहकारी संस्थाद्वारा मकवानपुरगढी गाउँपालिकाको लागत साझेदारीमा निर्मित कोदो संकलन तथा प्रशोधन केन्द्र एक समारोहका वीच उदघाटन गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष दिलबहादुर योञ्जनको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान ज्यूको प्रमुख आथित्यता तथा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको विशेष आतिथ्यतामा संचालन भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, रुद्रबाटिका सामुदायिक स्वास्थ्य इकाईका प्रमुख लक्ष्मण दाहाल, कृषि प्राविधिक गोपाल लम्सााल, सहकारी संस्थाका पदाधिकारीहरु, शेयर सदस्यहरु र कृषकहरुको उपस्थिति रहेको थियो ।

उदघाटन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले विद्युतीय घट्टको स्वीच थिचेर घट्टबाट कोदो पिसेर उदघाटन गर्नुभयो र कोदो पौष्टिक हिसाबले महत्वपूर्ण बाली भएको र यसको बजार माग क्रमश: वृद्वि हुदै गईरहेकोले कृषकहरु कोदो उत्पादनमा लाग्नु पर्ने र सहकारी मार्फत कोदोको संकलन र पिठोलाई प्याकेजिङ्ग गरि बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

बिगत दुई आर्थिक वर्ष देखि सहकारी संस्थाले कोदो संकलन गर्दै आईरहेकोमा भवन अभावका कारण व्यवस्थित रुपमा कोदो संकलन तथा विविधिकरण गर्न सकिरहेको थिएन । अब भण्डारण भवन निर्माण र पिसानी मिल स्थापना पश्चात व्यवस्थित रुपमा कोदो संकलन, भण्डारण तथा प्रशोधन र प्याकेजिङ्ग गरि बजारीकरण गर्न सहज हुने सहकारीका सचिव कृष्ण बहादुर घलान (मुस्कान) ले बताउनुभयो ।

 सहकारी संस्थाले कोदो संकलनको कार्य शुरुवात गरेपछि यस भेगका कृषकहरुलाई कोदो बिक्री गर्न सहज भएकोले विगतको वर्षहरुभन्दा कोदो खेती विस्तार भएको छ । गत वर्ष वडा न. ४ बाट मात्र १३५०० केजी कोदो संकलन गरिएकोमा यस वर्ष अन्य वडाहरुबाट समेत कोदो सँगै फापर पनि संकलन गरिने लक्ष्य रहेको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीय तहमा कोदो र फापरको मूल्य निर्धारण गर्छ र सोही मूल्यमा सहकारी संस्थाले खरिद गर्छ भन्ने गाउँपालिकाले सहकारी मार्फत प्रति केजी ४ रुपैयाका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउदै आईरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्