हेटौंडा । हेटौंडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ३२ बर्षीया निशा कुमारीको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बसले सोही दिशबाट आउँदै गरेको मोटरसाइकललाई शुक्रबार बिहान ११ बजेर २० मिनेटमा ठक्कर दिँदा उक्त मोटरसाइकलमा सवार निशा र चालक उनका श्रीमान ४३ बर्षीय रोशन कुमार राय घाइते भएका थिए ।
उनीहरुको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा ११ बजेर ३३ मिनेटमा निशालाई डाक्टर मृत घोषणा गरेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । उनका अनुसार निशाको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते रोशनको खुट्टामा चोट लागेको छ । उनको चोटको अवस्था सामान्य रहेको शालले बताए । बस र चालक नियन्त्रणमा रहेको उनले बताए ।

