मकवानपुरका स्थानीय तहको आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदै

हेटौंडा । मकवानपुर जिल्लाका अधिकांश स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०८२–८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने भएका छन्। संविधान र कानुनले तोकेको समयसीमाभित्र बजेट ल्याउनुपर्ने बाध्यताका कारण जिल्लाका आठ वटा पालिकाहरूले आज आफ्ना आर्थिक दृष्टिकोण र विकास योजनाहरू सार्वजनिक गर्दै छन्।

मकवानपुरमा १० वटा स्थानीय तह रहेका छन्, जसमध्ये मनहरी गाउँपालिका र बागमती गाउँपालिकाले केही दिनअघि नै नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेको छ। बाँकी रहेका ९ वटा पालिकाले भने आज आफ्ना तर्फबाट आ–आफ्ना योजनाहरू घोषणा गर्न लागेका हुन्।

हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, राक्सिराङ गाउँपालिका, बकैया गाउँपालिका, कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाले आ–आफ्ना नगर तथा गाउँसभाहरू बोलाई आर्थिक नीति र बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरिसकेका छन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न सभा आह्वान भइसकेको छ र केही पालिकामा नीति तथा कार्यक्रमको मस्यौदा सार्वजनिक पनि भइसकेको छ। प्रमुख प्रशासकीय अधिकृत, आर्थिक विकास शाखा प्रमुख, जनप्रतिनिधि र सरोकारवालाहरूको छलफलमा बजेटका प्राथमिकता र स्रोत व्यवस्थापनबारे अन्तिम मस्यौदा तयार पारिएको जनाइएको छ।

मकवानपुरको मनहरी र बागमती गाउँपालिकाले यस वर्ष सबैभन्दा पहिला नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, जल स्रोत संरक्षण र पर्यटन प्रवर्द्धनमा बजेटको प्राथमिकता राख्दै समावेशी र दिगो विकासलाई प्राथमिकतामा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *