मकवानपुरगढी गाउँपालिकाको ७४ करोडको बजेट सार्वजनिक

हेटौडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले वार्षिक नीति, कार्यक्रम प्रस्तुत गरेकी हुन् ।बजेटमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ।

कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने, गाउँपालिकाले कृषकहरूको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गर्ने र स्थानीय रैथाने बालीहरू (कोदो, जुनेलो, फापर, सिमि आदि) का लागि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने नीति ल्याएको छ। यस्तै ‘एक वडा, एक उत्पादन’ अभियानलाई थप प्रभावकारी बनाइनेछ भने बाँझो जमिनमा खेती गर्न इच्छुक किसानहरूलाई अनुदान दिइनेछ।

साथै, गाउँपालिकाभित्र रहेको माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यालयहरुलाई लक्षित गरी “पढ्दै, कमाउदै कार्यक्रम “ लाई निरन्तर सञ्चालन गरिनेछ । पशुमा लाग्ने खोरेत, भ्यागुते, लम्पी स्किन, पिपिआर र रेविज जस्ता रोगको नियन्त्रणका लागि खोपको सुनिश्चिता, साइलेज उत्पादन, पशु बीमा, र दुग्ध प्रोत्साहन गर्न दुग्ध उत्पादक सहकारी संस्था मार्फत कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने, पशु प्राविधिक, पशु सेवा केन्द्रहरू स्थापना गरी उपचार, कृत्रिम गर्भाधान, दुध परीक्षण लगायत सेवा उपलब्ध गराइनेछ । घाँस खेतीलाई प्रवर्द्धन गर्न पनि बाँझो तथा सिंचित जमिन प्रयोग गरिने नीति अवलम्बन गरिएको छ ।

तेस्तै, मकवानपुरगढी दरबार, मनकामना मन्दिर, सहिद रुद्र वाटिका, रानिवास एग्रोटुरिजम पार्क,पशुमैत्री पार्क, विजय पार्क, ढुङगेगढी, फुलुङगेश्वर महादेव, जलेश्वरधाम, इच्छापूर्णेश्वर मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिकस्थलहरूमा पूर्वाधार विकासमा लगानी गर्ने जनाईएको छ ।

शिक्षा क्षेत्रमा गाउँपालिकाले सामुदायिक विद्यालयमा निःशुल्क तथा अनिवार्य शिक्षा लागू गर्ने नीति लिएको छ। गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिइने र सूचना प्रविधिको उपयोग गर्दै शिक्षण प्रक्रियालाई प्रविधिमैत्री बनाउँनका लागि आवश्यक न्यूनतम् पूर्वाधार तथा सामग्रीको व्यवस्थापन गरिने उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा सबै वडामा स्वास्थ्य चौकी सञ्चालन, निःशुल्क औषधि र प्रसूति सेवा, तथा गर्भवती महिलाका लागि मातृ–शिशु स्वास्थ्यका क्षेत्रमा बजेट विनियोजन गरेर समावेशी स्वास्थ्य प्रणाली विकास गर्ने, मकवानपुरगढी र आमभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा सञ्चालनमा रहेका प्रयोगशालामा आवश्यक उपकरण सहित थप रोग निदानात्मक सेवा प्रदान गरिनेछ ।

साथै सुकौरा र बुढीचौर स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार गर्न आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न पहल गरिने छ । साथै समयमा नै जटिलतयुक्त गर्भको पहिचान गरि आमा र गर्भशिशुको जीवन रक्षा गर्न र अपाङ्गता सहितको जन्म न्यूनीकरण गर्न सहयोगी हुने नि:शुल्क ग्रामिण अल्ट्रासाउण्ड सेवा आ.व.२०८१/८२ मा प्रारम्भ गरिएकोमा ८ वटै वडाका स्वास्थ्य संस्थाहरुबाट मासिक घुम्ती सेवाको रुपमा नि:शुल्क ग्रामिण अल्ट्रासाउण्ड सञ्चालन गरिने जनाईको छ ।

पञ्जिकरण व्यवस्थापन तर्फ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई आर्थिक बर्ष २०८२/ ०८३ देखि वडा तहबाटै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था मिलाईने जनाएको छ । सामाजिक सुरक्षा भत्ता २०७२/८३ बाट वडा तहबाटै वितरण गरिने जनाइएको छ। यसले सेवा सरल र पहुँचमा हुने विश्वास गरिएको छ।

साथै गाउँपालिकाले चालु खर्चतर्फ ४१ करोड ७० लाख ६६ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ ३२ करोड ३५ लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ। । बजेटका स्रोतहरूमा संघीय सरकारबाट ४३ करोड ६१ लाख रुपैयाँ, प्रदेश सरकारबाट ९ करोड ४ लाख ३ हजार रुपैयाँ अनुदान र आन्तरिक स्रोतबाट ४ करोड ७५ लाख रुपैयाँ संकलन हुने जनाइएको छ।

गाउँपालिकाले आर्थिक विकासतर्फ ५ करोड ४५ लाख, पूर्वाधार विकासतर्फ १८ करोड ६० लाख, संस्थागत विकास सेवातर्फ १ करोड ३ लाख, सामाजिक विकासतर्फ ३८ करोड ६६ लाख ४९ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८१ लाख ३५ हजार र कार्यालय सञ्चालनतर्फ ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उलेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *