असार १५ हेटौंडा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले कृषि क्षेत्रको आधुनिकीकरण तथा प्रविधिमैत्री विकासमार्फत मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने आजको आवश्यकता औँल्याएकी छन्।
शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीमा सम्पन्न धान रोपाइ कार्यक्रमलाई सम्बोधन गर्दै मोक्तानले भनिन् “कृषि क्षेत्रमा प्रविधिको पहुँच पु-याई दक्ष जनशक्ति उत्पादन गरिने हो भने युवा जनशक्ति स्वदेशमै आत्मनिर्भर बन्न सक्छन्।”
धान दिवसको पूर्वसन्ध्यामा आयोजित उक्त धान रोपाइ कार्यक्रम अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर, नेपाल दलित मुक्ति मोर्चा हेटौंडा उपमहानगर समिति तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मकवानपुरको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका विशेष अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजय प्रकाश सापकोटाले कृषिलाई आधुनिकीकरण, बजारिकरण तथा सहजीकरण गर्न राज्य गम्भीरताका साथ लाग्नुपर्नेमा जोड दिए। “देशको आर्थिक विकासका लागि कृषि क्षेत्रमा वैज्ञानिक सोचसहितको योजना आवश्यक छ,” उनले भने।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य बीरबहादुर घलान (ज्वाला),ललितबहादुर घलान,लक्ष्मी पाख्रिन,बागमती प्रदेशसभा सदस्य बिबेक राई, कमला बराली,अखिल (क्रान्तिकारी) की केन्द्रीय उपमहासचिव निर्मला गौतम, प्रदेश अध्यक्ष अर्जुन पौडेल,जेष्ठ कम्युन मञ्चका केन्द्रीय सदस्य रामहरी सुबेदी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, केन्द्रिय लेखा समिती सदस्य राज सापकोटा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष प्रदीप अर्याल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्यालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल दलित मुक्ति मोर्चा, हेटौंडा उपमहानगर समितिका अध्यक्ष भिमप्रसाद बिकले गरेका थिए।
धान रोपाइसँगै शुभकामना आदान–प्रदान र सामूहिक गीतसंगीत समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा स्थानीय किसानहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

