एमपी शर्मा
हेटौंडा, मकवानपुर — २०८२ साउन २२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौंडा अस्पतालमा पर्याप्त जनशक्ति हुँदा समेत सेवा प्रवाहमा सुधार नआएको गुनासो चुलिँदै गएको छ। करिब ५४५ कर्मचारी कार्यरत रहे पनि अस्पतालमा दैनिक सेवा लथालिंग भएको बिरामी र सेवाग्राहीको आरोप छ।
अस्पतालमा हाल ५४ जना कन्सल्टेन्ट डाक्टर, ४८ मेडिकल अफिसर, १०५ स्टाफ नर्स, २० नर्सिङ अफिसरसहित प्रशासनिक, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी, स्वास्थ्य सहायक र अन्य प्राविधिक तथा अप्राविधिक कर्मचारी गरी कुल ५४५ जना कार्यरत छन्। यति ठूलो संख्यामा कर्मचारी रहे पनि दैनिक औसत १४०० जना विरामीको उपचार सेवा सुचारु गर्न अस्पताललाई कठिन भइरहेको छ।
सेवाग्राहीहरूको भनाइमा अस्पतालमा स्वास्थ्यकर्मीहरू समयमा उपस्थित नहुनु, बिरामी जाँचमा ढिलाइ, परीक्षण र रिपोर्टमा ढिला सुस्ती हुनु, औषधि अभाव तथा शुद्ध सरसफाइको कमीजस्ता समस्या आम छन्। अस्पतालको व्यवस्थापन पक्षले नियमित अनुगमन नगर्नु र जवाफदेही संरचना कमजोर हुनु नै यसका मूल कारण हुन् भन्ने विश्लेषण गरिएको छ।
एक सेवाग्राही रमेश लामाले भने, “बिरामी लिएर बिहानै अस्पताल आइपुग्दा पनि रिपोर्ट आउन दिउँसोसम्म कुर्नुपर्छ। कतिपय सेवाका लागि त फेरि अर्को दिन आउनु भन्छन्।” यस्ता घटनाले सरकारी अस्पतालप्रतिको विश्वास कमजोर बनाउँदै गएको छ।
हेटौंडा अस्पताल बागमती प्रदेशको राजधानीमा भएर पनि सेवाको गुणस्तरमा सुधार नआउनु गम्भीर विषय बनेको छ। स्वास्थ्य सेवाका लागि बिरामीहरू अन्यत्र जिल्लामा धाउनुपर्ने बाध्यता रहेको छ।
हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानका संयोजक विशालराज महत भन्छन् अस्पतालमा जनशक्तिको अभाव होइन, प्रष्ट नीति, जवाफदेही नेतृत्व र प्रभावकारी व्यवस्थापनको अभाव मुख्य समस्या हो।
यसबीच मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भिमसागर गुरागाई सेवा सुधारका लागि योजनाबद्ध प्रयास भइरहेको बताउँछन्। तर, सुधारको अनुभूति सेवाग्राहीले नगरेसम्म यस्ता प्रयासहरू कागजमै सीमित हुने देखिन्छ।

