
२२ साउन २०८२ | हेटौंडा, मकवानपुर
बागमती प्रदेशको राजधानी हेटौडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौडा अस्पतालको डायलिसिस केन्द्र गम्भीर सेवा संकटमा पर्दै गएको छ। बेड र मेसिनको अभाव, बढ्दो बिरामी चाप, र प्राविधिक समस्याका कारण, दैनिक सेवा खोज्दै आउने धेरै बिरामीहरू उपचार नपाई घर फर्किन बाध्य छन्।
हाल केन्द्रमा १४ वटा डायलिसिस बेड छन्, जहाँ १०२ जना बिरामी नियमित सेवा लिइरहेका छन् भने ६२ जना वेटिङ सूचीमा छन्। आवश्यक समयमा डायलिसिस नपाउँदा धेरै बिरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
अझ चिन्ताको विषय के छ भने, यस्तो गम्भीर संकट प्रदेश राजधानीकै एकमात्र डायलिसिस केन्द्रमा उत्पन्न हुँदा पनि प्रदेश सरकार, अस्पताल प्रशासन र सरोकारवाला निकायहरू चुपचाप छन्।
केन्द्रमा रहेका २२ वटा डायलिसिस मेसिनमध्ये ४ वटा बिग्रिएर प्रयोगबाहिर छन्। तर ती मर्मतका लागि कुनै ठोस पहल देखिएको छैन। यस्तै, नयाँ बेड थप्ने विषयमा पनि अस्पताल वा प्रदेश सरकारले चासो नदेखाएको सेवाग्राहीहरूको गुनासो छ।
उक्त सेवा केन्द्र रोटरी क्लब हेटौंडा, हेटौंडा उपमहानगरपालिका तथा अन्य सामाजिक संस्थाहरूको सहयोगमा स्थापना गरिएको भए पनि, अहिले प्रदेश सरकारको उदासिनताका कारण सेवा चरम संकटमा पुगेको छ।
यता अस्पताल प्रशासनले भने डायलिसिस सेवा विस्तार गर्न प्रयास भइरहेको बताएको छ।

