
एमपी शर्मा
२३ साउन २०८२ हेटौंडा–५ पिप्ले निवासी नौ वर्षीया बालिका सामना अर्यालको उपचारमा लापरवाही भएको आरोपपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरी बिहिबारबाट छानबिन सुरु गरेको छ। घटना सार्वजनिक भएपछि प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पनि यस विषयलाई गम्भीर चासोका रूपमा लिँदै तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।
बालिका अर्याल गत असार ९ गते पेट दुख्ने समस्या लिएर हेटौंडा अस्पताल पुगेकी थिइन्। तर ५ दिनसम्म अस्पतालमा उपचार भइरहँदा पनि डाक्टरहरूले रोग पहिचान गर्न सकेनन्। अवस्था झन् जटिल भएपछि बालिकालाई काठमाडौँको कान्ति बाल अस्पताल लगिएको थियो। त्यहाँ परीक्षण गर्दा एपेन्डिक्स पहिले नै फुटिसकेर संक्रमण शरीरभर फैलिएको पाइएको बालिकाका बुबा दीपक अर्यालले जानकारी दिए। उनका अनुसार, छोरीलाई समयमै कान्ति अस्पताल नलगेको भए ज्यानै जान सक्थ्यो।
अस्पतालको लापरवाहीप्रति पीडित परिवारले गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। परिवारको आरोप छ, रोग पहिचानमै ढिलाइ हुनु र समयमै उचित उपचार नहुनु चिकित्सकीय लापरवाहीको स्पष्ट उदाहरण हो।
घटनाको बारेमा स्वास्थ्य निर्देशनालयमा उजुरी परेपछि स्वास्थ्य निर्देशनालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठनगरी छानबिन गर्ने निर्णय गरेको थियो।
स्वास्थ्य निर्देशनालयका डा. नवीन दर्नालको संयोजकत्वमा गठित छानबिन टोलीले अस्पतालमा पुगेर उपचार हिस्ट्री रिपोर्ट संकलन, उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग सोधपुछ गरिसकेको छ। मन्त्रालयका शाखा अधिकृत खेमराज भट्टराईका अनुसार, छानबिन टोलीलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
यसैबीच, हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानका संयोजक विशालराज महतको नेतृत्वमा गएको टोलीले पीडित पक्ष र अस्पताल प्रशासनसँग छलफल गरेको थियो। तर स्वास्थ्य मन्त्रालयले नै छानबिन समिति गठन गरी औपचारिक अनुसन्धान थालिसकेकाले, अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपछि मात्र थप निष्कर्षमा पुग्ने सहमतिमा छलफल टुंगिएको थियो।
अस्पताल विकास समितिका पूर्व अध्यक्ष प्रकाश पौडेलले यस्ता घटना दोहोरिन नदिनका लागि घटनाको बारेमा छानबिन गरी दोषी पाइए कडा कारबाही गर्नुपर्ने बताउँछन्।
पीडित परिवारले छानबिन प्रक्रिया निष्पक्ष र पारदर्शी होस् भन्ने माग गरेका छन्। साथै, दोषी प्रमाणित भएमा कानूनी कारबाही गरियोस् भन्ने अपेक्षा समेत व्यक्त गरेका छन्।
दोषी पाइए कानुनी कारबाहीको यस्तो व्यवस्था रहेको छ।
नेपालमा चिकित्सकको लापरवाहीसम्बन्धी कारबाही व्यवस्था:
1. स्वास्थ्य सेवा ऐन, २०७५
यस ऐनले स्वास्थ्य सेवा दिने व्यक्तिले सेवा दिने क्रममा ध्यान दिनुपर्ने आचरण, जिम्मेवारी र मापदण्डहरू निर्धारण गरेको छ। यदि चिकित्सकले ती मापदण्ड उल्लंघन गरे भने कारबाही गर्न सकिने व्यवस्था छ।
2. नेपाल मेडिकल काउन्सिल (NMC)
अनुशासनात्मक कारबाही:
नेपाल मेडिकल काउन्सिलले प्रमाणपत्र प्रदान गरेको चिकित्सकले लापरवाही गरेमा काउन्सिलले उनीमाथि अनुसन्धान गरी अनुशासनात्मक कारबाही गर्न सक्छ।
चेतावनी
लाइसेन्स स्थगित गर्ने
लाइसेन्स खारेज गर्ने
बिरामी वा उनका परिवारले काउन्सिलमा उजुरी दिन सक्छन्।
3. फौजदारी अपराधको रूपमा कारबाही (Criminal Liability)
यदि चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु वा गम्भीर शारीरिक क्षति भयो भने,
कसुर (Negligence) अन्तर्गत फौजदारी मुद्दा दायर गर्न सकिन्छ।
मुलुकी अपराध संहिता २०७४ अनुसार “लापरवाहीबाट मृत्यु” वा “शारीरिक क्षति पुर्याउने” कसुरमा सजाय हुन सक्छ।
4. देवानी क्षतिपूर्ति (Civil Compensation)
बिरामी वा उनका परिवारले चिकित्सक वा अस्पतालविरुद्ध देवानी मुद्दा (civil case) दायर गरेर क्षतिपूर्ति माग गर्न सक्छन्।

