
२७ साउन २०८२
हेटौंडा, मकवानपुर — ५४५ जनाको जनशक्ति भएको हेटौंडा अस्पतालमा केही वार्डहरू डाक्टरको उपस्थितिमा मात्र सञ्चालन हुने गरेको गुनासो बढ्दो छ। सोमबारको दिन आयुर्वेदिक वार्डमा सेवा लिन पुगेका बिरामीहरू ढोकामा लगाएको ताल्चा देखेर फर्कन बाध्य भएका छन्।
“हामी टाढाबाट सेवा लिन आयौं, यहाँ त ताला लगाइएको रहेछ,” बकैया गाउँपालिका निवासी अप्सरा घिमिरेले दुखेसो पोखिन्। यसैगरी, नवलपुरका तिर्थ आचार्यले भने, “डाक्टर आउँदा मात्रै खुल्ने, नआउँदा त वॉर्ड नै बन्द हुने यस्तो दु:खद अवस्थाले कसरी सेवा लिने?”
हेटौंडा–४ हुप्राका राजु तिवारीले पनि असन्तोष व्यक्त गर्दै भने, “सेवा नै दिन सक्दैन भने किन राखेको? नियमित खुल्ने वा सधैँ बन्द हुने भन्ने स्पष्ट हुनुपर्यो, कहिले खुल्ने कहिले नखुल्ने हुँदा धेरै गाह्रो भएको छ।”
अस्पताल प्रशासनसँग बुझ्दा, हाल आयुर्वेदिक शाखामा डा. राम अर्याल मात्र कार्यरत रहेको र उहाँ बिदामा रहँदा सेवा बन्द हुने जानकारी प्राप्त भएको छ। जनशक्ति अभावकै कारण सेवा नियमित दिन नसकिएको अस्पताल प्रशासनले बताएको छ।
अस्पतालका मेडिकल रेकर्ड अनुसार पछिल्लो तीन महिनामा आयुर्वेद विभागमा उल्लेख्य संख्यामा बिरामीले सेवा लिएका छन्। बैशाख महिनामा ६८९, जेठमा ८७९ र असारमा ७०९ जनाले सेवा लिएको तथ्यांक छ। तर सेवा प्रवाहमा आएको समस्याले भने सेवाग्राहीहरु दुखी छन ।

