
हेटौंडा, मकवानपुर ।
२६ साउन २०८२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालबाट अन्यत्र रिफर भएर जाने बिरामीको संख्या उल्लेख्य देखिएको छ। पछिल्ला तीन महिनाको तथ्यांकले अस्पतालले गुणस्तरीय सेवा दिन नसकेको जनाउ दिएको छ।
अस्पतालका मेडिकल रेकर्डर हरिश मल्लका अनुसार २०८२ सालको बैशाख महिनामा २,०८३ जना, जेठमा १,१९५ जना र असारमा १,०२४ जना बिरामी अन्य अस्पतालमा रिफर भएका छन्। यीमध्ये अधिकांश चितवन र काठमाडौँका अस्पतालतर्फ गएका थिए।
हेटौंडा अस्पतालले सबै रोगको सेवा बिस्तार गरेको भने पनि रिफर हुने बिरामीको संख्या भने खासै घटेको छैन। केही समयअघि रिफर अस्पतालको रूपमा परिचित हेटौंडा अस्पताल आज पनि सोही छविमा अडिएको देखिन्छ। प्रदेशको राजधानीमा अवस्थित भए पनि यहाँबाट गुणस्तरीय सेवा नपाएको गुनासो बिरामी तथा स्थानीयवासीहरूबाट आइरहेको छ।
हेटौंडा निवासी अजय लामा भन्छन्, “यहाँ सेवा राम्ररी नपाइने भएकाले हामी चितवन वा काठमाडौँ जान बाध्य हुन्छौं। बिरामी हुँदा उपचारकै भर पर्नुपर्छ, जहाँ राम्रो सेवा छ, त्यतै जानुपर्ने अवस्था छ।”
विशेषज्ञ चिकित्सकको अभाव, अत्याधुनिक उपकरणको कमी र व्यवस्थापनको कमजोरीका कारण बिरामीहरू अन्यत्र जान बाध्य हुने अवस्था यथावत रहेको जनगुनासो छ। यसैबीच, अस्पताल प्रशासनले भने सेवा सुधारका लागि प्रयास भइरहेको बताउँदै आएको छ।

