२६औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मकवानपुरमा विचार गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न


२६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरको आयोजनामा बिचारगोष्ठी एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
सामाजिक र राजनीतिक विकासमा युवाको भूमिका बिषयक बिचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथि जम्कट्टेलले युवाहरु समाज विकासको मेरुदण्ड भएको बताउनु भयो । उहाँले युवाहरु अध्ययनशील हुनुपर्ने बताउनु भयो ।

जमरकट्टेलले युवालाई श्रम, उत्पादन, र क्रान्तिकारी विचारसँग जोड्नुको आवश्यकता औंल्याउँदै भन्नुभयो, “युवा भन्नाले उमेर मात्र होइन, सोच, आचरण र राजनीतिक दृष्टिकोणबाट पनि युवा हुनुपर्छ। श्रममा विश्वास गर्ने, देशप्रति समर्पित, भ्रष्टाचारको विरोध गर्ने र परिवर्तनको संवाहक शक्ति नै युवा हुन्।” उहाँले युवालाई क्रान्ति दर्शन, जनयुद्धको इतिहास, मार्क्सवादी सिद्धान्त, र द्वन्दात्मक भौतिकवादजस्ता विचारमा शिक्षित गराउनु जरुरी रहेको धारणा राख्नुभयो।

कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी ‘छिन्तु’ले समाजवाद हुँदै साम्यवादतर्फको यात्रामा युवा अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “युवासँग जोश मात्र होइन, अब रणनीति र विश्वव्यापी मुद्दामा भूमिका खेल्ने क्षमतासमेत आवश्यक छ। जलवायु परिवर्तनजस्ता विषयमा समेत नेपाली युवाको सहभागिता महत्वपूर्ण छ।”

नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले युवाको सोच र वैचारिक परिपक्वता नै परिवर्तनको आधार भएको बताउँदै भन्नुभयो, “युवाले चाहेमा व्यवस्था र समाज बदल्न सक्छन्। युवा मात्र समाजको उपभोक्ता नभई निर्माता हुनुपर्छ।”

नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य लक्ष्मी पाख्रिनले युवालाई राष्ट्रका चिन्तक र द्रष्टाको रूपमा अगाडि ल्याउनु पर्ने बताउँदै देश निर्माणको जिम्मेवारी उनैको काँधमा रहेको औंल्याउनुभयो।

नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भीम पाख्रिनले माओवादी आन्दोलनदेखि संविधान निर्माणसम्म युवाको अतुलनीय योगदान रहेको स्मरण गर्दै मकवानपुरमा हरेक आन्दोलनमा युवाको भूमिका अग्रपङ्क्तिमा रहेको बताउनुभयो।

अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्यालले युवालाई नारामा सीमित नराखी व्यवहारिक रूपमा सक्षम बनाउनु पर्नेमा जोड दिनुभयो। “युवालाई रोजगारी, सीपमूलक कार्यक्रम, र सामाजिक विभेद विरुद्धको नेतृत्वमा अग्रसर बनाइनुपर्छ,” उहाँले भन्नुभयो। साथै, पार्टीभित्र लागेका युवाको सम्मान र क्षमता अभिवृद्धि गर्ने संस्कारको विकास आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्तालाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा वाइसीएल नेपालका केन्द्रीय सचिव तथा खेलकुद विभाग प्रमुख राजकुमार मोक्तान, जनयुद्धकी घाइते अमृता पाख्रिन, नेम इन्स्टिच्युटका प्रमुख तथा एकाउण्टिङ प्रशिक्षक किशोर अर्याल, स्वास्थ्य संगठन अध्यक्ष जयराम रायमाझी, मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख उत्तम अर्याल, प्राध्यापक संघ बागमती प्रदेश अध्यक्ष तथा शिक्षाविद् गौतम केसी, र पत्रकार राजकुमार केसी रहनुभएको थियो।

कार्यक्रम अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संगठनका सचिव छोईसाङ लामाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संगठनका प्रतिनिधि, विद्यार्थी, तथा युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *