ए र बी पोजिटिभ रगतको माग बढ्दो , दैनिक १५ युनिट रगत खपत


एमपी शर्मा

२८ साउन २०८२
हेटौंडा, मकवानपुर — नेपाल रेडक्रस सोसाइटी अन्तर्गत सञ्चालित रक्तसञ्चार केन्द्र हेटौंडामा ए पोजिटिभ र बी पोजिटिभ रगतको माग अत्यधिक रहेको छ। केन्द्रका प्रमुख टंकप्रसाद दाहालका अनुसार अहिले केन्द्रमा दैनिक औसत १५ युनिट रगतको खपत भइरहेको छ, जसमा ७० प्रतिशत रगत डायलिसिसका बिरामीका लागि प्रयोग भइरहेको छ। बाँकी रगत शल्यक्रिया तथा रक्तअल्पता भएका बिरामीहरूलाई दिइन्छ। हेटौडा अस्पतालको डायलिसिस केन्द्रमा अहिले ए र बी प्लस रगतको आवश्यकता बडिरहेको छ ।

उहाँका अनुसार, संघसंस्था र व्यक्तिगत रक्तदाताहरूको सहयोगमा रक्त सञ्चार केन्द्रले सेवा प्रवाह गर्दै आएको छ। हाल केन्द्रसँग १२५ युनिट रगतको सञ्चिति रहेको छ। तर डेंगुको जोखिम बढ्दै गएकाले सेतो रगत (White Blood Cells) को माग पनि बढ्न सक्ने भएकाले रगत सञ्चिति बढाउनु आवश्यक भएको दाहालले बताउनुभयो।

रक्तसञ्चार केन्द्रले हाल हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश ,भीमफेदी बकैया ,बागमती गाउँपालिकाका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ। थाहा र इन्द्रसरोवर गाउँपालिकाका बासिन्दाले भने सेवा वापत शुल्क तिर्नुपर्ने छ। ती पालिकासँग पनि चाँडै सहमति गरेर सेवा निःशुल्क बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

केन्द्रलाई विभिन्न स्थानीय तह र प्रदेश सरकारबाट आर्थिक सहयोग प्राप्त भएको छ। हेटौंडा उपमहानगरपालिकाले १५ लाख, मकवानपुरगढी गाउँपालिकाले ५ लाख, मनहरी गाउँपालिकाले ७ लाख , बागमती , बकैया,कैलाश, राक्सिराङ ,भीमफेदी गाउँपालिकाले पनि सहयोग गरेको छ भने बागमती प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ।

बागमती प्रदेश सरकारको सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा उपचारमा आउने बागमती प्रदेशका १३ वटै जिल्लाका नागरिकलाई पनि निःशुल्क रगत सेवा दिइँदै आएको केन्द्रले जनाएको छ । अमेरिकी रेडकसले ४० लाख रुपैयाँ सहयोगमा कम्पोनेन्ट मिसिन खरिद गरेर केन्द्रले सेवा दिँदै आएको छ।

मकवानपुर जिल्लाका १०७ भन्दा बढी संघसंस्थाले हरेक वर्ष रक्तदान गकार्यक्रम गर्दै आएको केन्द्रका प्रमुख दाहालले बताउनुभयो। । सहकारी संस्था, क्याम्पस र जेसीजजस्ता संघसंस्थाले रक्तदानमा सक्रियता देखाएका छन्। दाहालका अनुसार, बिरामीलाइ चितवनसम्म रगत पठाउने गरिएको छ।

हाल केन्द्रमा ३ जना प्राविधिक कर्मचारी कार्यरत छन् र २४ घण्टा सेवा सञ्चालन हुँदै आएको छ। रक्तदाताको संख्या बढाउन केन्द्रले “रक्तदाता उत्प्रेरणा कार्यक्रम” सञ्चालन गर्दै आएको छ। रगतको अभाव भएमा केन्द्रले रक्तदातालाई केन्द्रमै बोलाएर पनि रक्तदान गराउँदै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *