
मकवानपुर, कैलास गाउँपालिका–९ नामटारस्थित स्यार्से कालिका मन्दिर परिसरमा यस वर्ष पनि परम्परागत स्यारशेखालीका मेला भव्य रूपमा आयोजना हुने भएको छ। मंसिर १७ र १८ गते हुने मेलामा भक्तजनहरूले आफ्नो मनोकामना पूरा होस् भनेर भाकल गर्ने, बलि चढाउने, रातभर जाग्राम बस्ने तथा बत्ती बाल्ने परम्परा रहेको स्यार्से कालिका मन्दिर क्षेत्र विकास समितिले जनाएको छ।
मेलामा यस वर्ष चर्चित भजन गायक निश्चल सिलवालको विशेष प्रस्तुति रहनेछ। साथै स्थानीय कलाकारहरूले पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजक समितिले जनाएको छ। मेलामा मकवानपुर लगायत आसपासका क्षेत्रबाट भक्तजनहरू आउने मेला आयोजकले जनाएको छ।
मेला आयोजना तथा व्यवस्थापनका लागि संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश र कैलास गाउँपालिकाबाट आर्थिक सहयोग प्रदान गरेको छ। मेलाको सम्पूर्ण व्यवस्थापन भने श्री स्यार्से कालिका मन्दिर क्षेत्र विकास समिति, कैलास–९ नामटारले गर्ने छ।

