
अशोक सुजन श्रेष्ठ
२२ मंसिर २०८२
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले लैङ्गिक हिंसा अन्त्यका लागि सरकार मात्र होइन, समाजका सबै नागरिकको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बतानु भएको छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको आयोजनामा सम्पन्न सचेतनामूलक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष स्याङ्तानले लैङ्गिक हिंसा सम्पूर्ण समाजको गम्भीर समस्याका रूपमा रहेको उल्लेख गर्नु भयो। उहाँले अभियानलाई औपचारिक कार्यक्रममै सीमित नराखी दैनिक व्यवहारमा उतार्न सबैमा आग्रह समेत गर्नु भयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीन नेपालीले हिंसा देखेर मौन बस्नु नै हिंसालाई बढावा दिनु भएको धारणा व्यक्त गर्दै पीडितको पक्षमा निडर भएर उभिनु अपरिहार्य रहेको बताउनु भयो। साथै उहाँले समानता, सम्मान र सुरक्षित समाज निर्माणका लागि गाउँपालिकाले नीतिगत तथा व्यवहारिक पहललाई निरन्तरता दिँदै आएको जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले महिला र पुरुष प्रतिस्पर्धी नभई परिपूरक रहेको उल्लेख गर्दै डिप्रेसन र एन्जायटीजस्ता मानसिक स्वास्थ्य समस्याका कारण हिंसाका घटना बढ्दै गएको बताउनु भयो। उहाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि परिवारबाटै—बालबालिकादेखि नै—सकारात्मक संस्कार र सिकाइ आवश्यक रहेकोमा जोड दिनु भयो। सामाजिक सञ्जालको दुरुपयोगबाट हिंसा बढिरहेको उल्लेख गर्दै सजग रहनुपर्ने पनि उहाँको भनाइ थियो। साथै, हिंसामा महिलामात्र होइन पुरुष पनि पीडित हुने गरेका घटनाहरू रहेको बताउनु भयो।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रीनले डिजिटल युगमा सामाजिक सञ्जालका कारण हिंसाका घटना बढ्दै गएको भन्दै यसको प्रयोगमा सचेतना अपनाउनुपर्ने बताउनु भयो। सामाजिक सञ्जालले सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने भएकाले अभिभावकसँगको संवाद र पारिवारिक छलफल आवश्यक रहेको उहाको भनाइ थियो।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालकी संयोजक एवं अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । स्वागत मन्तव्य शिक्षा शाखाकी भगवती घिमिरेले राख्दै हिंसा सहनु र हिंसा गर्नु—दुवै अवस्थाबाट मुक्त हुनु नै लैङ्गिक हिंसा विरुद्धको अभियानको सार्थकता रहेको बताउनु भयो ।
पालिका उपाध्यक्ष मानकुमारी पाख्रिनको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो। महिला बालबालिका शाखा प्रमुख तथा कार्यक्रम संयोजक साबित्री सापकोटाले सहजिकरण गर्नु भएको कार्यक्रममा पालीकाका विभिन्न शाखा प्रमुखहरू, महिला स्वास्थ्य स्वयंसेविका, सहकारी संस्थाका महिला प्रतिनिधि, किशोरीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

