
२७ मंसिर २०८२
मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
साविक मकवानपुरगढी गाविसका ९ वटै वडा तथा हाल मकवानपुरगढी गाउँपालिकाका वडा नं. १ देखि ४ सम्म कार्यक्षेत्र रहेको सहकारी २०५५ सालमा स्थापना भएको हो। संस्थामा हाल १ हजार ४ सय १३ जना शेयर सदस्य आबद्ध रहेका छन् भने संस्थाको शेयर पूँजी ३४ लाख ६७ हजार रुपैयाँ रहेको छ।
संस्थाले सदस्यहरूबाट ५ करोड ६१ लाख ८७ हजार रुपैयाँ बचत संकलन गरी ६ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरेको छ। आर्थिक वर्ष ०८१/०८२ मा संस्थाले करिब ७ करोड १८ लाख रुपैयाँको कारोबार गरेको संस्थाकी व्यवस्थापक सुभद्रा घिमिरेले जानकारी दिनुभयो।
संस्थाले स्थापनाकालदेखि नै सदस्यहरूको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले पाठापाठी साटासाट कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। उक्त कार्यक्रमबाट हालसम्म करिब ८ सय जना सदस्य लाभान्वित भएको संस्थाकी अध्यक्ष जानकी दहालले बताउनुभयो। साथै, सदस्यहरूले उत्पादन गरेको बेसारलाई संस्थाको आफ्नै उद्योगमार्फत कुटानी–पिसानी गरी बिक्री वितरण गर्दै आएको र आगामी दिनमा विभिन्न सरोकारवालाको सहयोगमा यस कार्यलाई अझ व्यवस्थित बनाइने उहाँले जानकारी दिनुभयो।
गत १२ गतेदेखि वडा–वाइज सुरु गरिएको साधारणसभा २६ गते शुक्रबार संस्था प्राङ्गणमा समापन गरिएको हो। समापन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष जानकी दहालले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सोविता पोखरेल, निवर्तमान अध्यक्ष भिमकुमारी न्यौपाने, पूर्व अध्यक्ष निर्मला लम्साल, कृष्णप्रसाद पोखरेल, अर्जुन दहाललगायतको उपस्थिति रहेको थियो।
संस्थाले सहकारी नियमन प्राधिकरणको निर्देशनको पालना गर्दै अतिथि बिना नै साधारणसभा सम्पन्न गरिएको जनाएको छ।

