हेटौंडाको डम्पिङ साइट आगलागी उपमहानगरको लापरवाहीको परिणाम: सुनुवाइ नभए घेराउ गर्ने सामाजिक अभियन्ताको चेतावनी

मंसिर २९गते । हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन तथा डम्पिङ स्थलमा हरेक वर्ष दोहोरिँदै आएको आगलागी आकस्मिक नभई उपमहानगरपालिकाको लापरवाही, अदूरदर्शिता र असक्षम फोहोर व्यवस्थापन नीतिको प्रत्यक्ष परिणाम भएको भन्दै कडा आलोचना गरिएको छ।

सामाजिक अभियन्ता विशालराज महतले प्रेस विज्ञप्ति मार्फत डम्पिङ स्थलमा बारम्बार हुने आगलागीले धुवाँ, दुर्गन्ध र विषालु ग्यास फैलिँदा पनि जिम्मेवार निकाय मौन बस्नु गम्भीर अपराध भएको उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार डम्पिङ स्थलमा संकलित फोहोरबाट निस्कने ग्यास तथा प्लास्टिकजन्य पदार्थको खुला आगोका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा दीर्घकालीन क्षति पुगिरहेको छ। श्वासप्रश्वाससम्बन्धी रोग, छाला, आँखा तथा बालबालिका र ज्येष्ठ नागरिकमा जटिल स्वास्थ्य समस्या देखिनु यसको प्रत्यक्ष असर भएको उहाँको भनाइ छ।

महतले उपमहानगरपालिकाले आजसम्म फोहोर वर्गीकरण (जैविक र अजैविक) को व्यवस्थित व्यवस्थापन गर्न नसक्नु, नियमित अनुगमन तथा आगलागी नियन्त्रण संयन्त्र नबनाउनु र प्रभावित नागरिकप्रति उत्तरदायित्व नदेखाउनु संस्थागत असफलताको प्रमाण भएको दाबी गर्नुभएको छ ।

सामाजिक अभियान्ता महतले डम्पिङ स्थलमा बारम्बार हुने आगलागीबारे छानबिन समिति गठन गर्न, वैज्ञानिक र दिगो फोहोर व्यवस्थापन प्रणाली लागू गर्न, जैविक फोहोर प्रशोधन (कम्पोस्ट/बायोग्यास) र रिसाइकल प्रक्रिया अनिवार्य तथा प्रभावकारी बनाउन माग गरेका छन्। साथै प्रभावित क्षेत्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग गर्नुभएको छ ।

यदि यस्ता घटनालाई अझै ‘सामान्य’ भन्दै बेवास्ता गरिए चुप लागेर नबस्ने चेतावनी दिँदै उहाँले आवश्यक परे हेटौंडा उपमहानगरपालिकालाई घेराउ गर्न पनि पछि नपर्ने बताउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *