
मकवानपुर
सामाजिक अभियन्ता विशाल राज महतले वैकल्पिक राजनीतिको नाममा चेतनालाई दबाउने प्रवृत्ति बढ्दै गएको बताएका छन्। सामाजिक संजालमा लेख्दै उनले विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको गतिविधिप्रति उनले गम्भीर प्रश्न उठाएका छन्।
महतले मानव जाति विवेकशील प्राणी भए पनि आज स्वार्थ, शक्तिपूजा र दास मानसिकताले समाजलाई मौन बनाएको बताए। “गलतलाई गलत भन्न नसक्ने अवस्था नै आज भ्रष्टाचार, अनियमितता र बेथितिको मूल कारण बनेको छ,” उनले भने।
उनका अनुसार संगठनभित्र रहेर पनि गलत प्रवृत्तिविरुद्ध आवाज उठाउन नसक्ने संस्कार कमजोर बन्दै गएको छ, जसका कारण गलत अभ्यासहरू सामान्यझैँ स्वीकारिन थालेका छन्।
रास्वपाले आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरे पनि उम्मेदवार छनोट प्रक्रियामा पुराना दलभन्दा फरक अभ्यास देखिन नसकेको महतको आरोप छ। “जनताको विश्वासमाथि खेलवाड गर्दै अवसरवादी र पदलाई सेवाको होइन लाभको साधन ठान्ने व्यक्तिहरूलाई अघि सारिएको छ,” उनले बताए।
विशेषगरी मकवानपुर जिल्लामा नजिकबाट देखिएको अवस्थाले आफू निराश भएको उनको भनाइ छ। पार्टीभित्र आलोचनात्मक आवाजभन्दा बधाई र समर्थन मात्र देखिनुले शक्तिपूजक र दास मानसिकताको झल्को दिने उनले टिप्पणी गरे।
“वैकल्पिक हुन बहस चाहिन्छ, फरक मत राख्ने साहस चाहिन्छ,” महतले भने, “यदि पार्टीभित्र आलोचना निषेध छ भने अरूलाई ‘झोले’ भन्ने नैतिक अधिकार कसैलाई हुँदैन।”
उनले मकवानपुरमा गलत चरित्र र प्रवृत्तिहरू हाबी हुँदै गएको दाबी गर्दै जनतालाई सचेत रहन आग्रह गरे। “अब जनतासँग झुक्किने छुट छैन। विवेकलाई भिड र हुइँयाको नाममा बन्दक बनाउनु हुँदैन,” उनले भने।
नाम नयाँ हुँदैमा चरित्र पनि नयाँ हुन्छ भन्ने ग्यारेन्टी नहुने उल्लेख गर्दै महतले भावनाभन्दा विवेकका आधारमा निर्णय गर्न आग्रह गरे। साथै उनले आफ्नो तर्फबाट यस्तो प्रवृत्तिप्रति स्पष्ट बहिष्कार रहेको जनाउँदै “म आफ्नो विवेक बन्धक राख्न सक्दिनँ, नाफा–घाटाको हिसाबकिताब गर्दिनँ,” भने।

