१९ असार २०८०
एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा हेटौँडामा विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी ९ दिने रोबोटिक्स र अटोमेसनसम्बन्धी प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सोमबार हेटौंडामा सुरु भएको छ। असार १८ देखि २६ गतेसम्म सञ्चालन हुने कार्यशालामा हेटौंडाका विभिन्न अठारवटा विद्यालय तथा क्याम्पसका गरी ४ दर्जन भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको छ ।
हेटौँडा-४, भैरवरोडस्थित साहित्य सङ्गम मकवानपुरको सभाहलमा ९ दिनसम्म हरेक दिन दिउँसो १ बजे देखि ४ बजेसम्म हुने कार्यशालामा अनुज अधिकारी, आयुष बस्नेत, सन्देश तामाङ, रविन परियार लगायतले प्रशिक्षकको भूमिका खेल्ने जानकारी महासचिव चिरञ्जीवी लामिछाने बताउनुभएको छ । मङ्गलबारदेखिको कार्यशालामा भने छानिएका २१ जना विद्यार्थीलाई सहभागी गराइनेछ ।
यस फाउन्डेसनमा आबद्ध विद्यार्थीद्वारा तयार गरिएको मोबाइल एपमार्फत दियो बालेर सोमबार भएको उद्घाटन सत्रमा ब्रेनीक्युब रिसर्च अर्गनाइजेसन नेपालका कार्यकारी अध्यक्ष तथा नेपालका प्रख्यात युवा वैज्ञानिक आकाश देवको प्रमुख आतिथ्य रहेको थियो भने विज्ञान शिक्षक एसोसिएसन नेपाल मकवानपुरका जिल्ला उपाध्यक्ष भरत पोखरेल तथा विभिन्न विद्यालयहरूका शिक्षक प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण प्रकृति अर्यालले गर्नुभएको थियो भने एस्ट्रोनोभा फाउन्डेसन नेपालका अध्यक्ष किशन बास्तोलाको अध्यक्षता रहेको थियो।
प्रदेश राजधानी हेटौँडा र यस आसपासमा रहेका विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीहरूलाई एउटै मालामा गाँसी उनीहरूको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि सिर्जनशीलता, उद्यमशीलता, क्षमता विकास र उत्पादनशीलता का साथै बदलिँदो विश्व परिवेश अनुकूल चल्नका लागि विज्ञान, प्रविधि, नवप्रवर्तन , गणित, अनुसन्धान, स्टार्टअप र रोजगारी विकासका क्षेत्रमा नयाँ आयाम स्थापित गरी दुरगामी लक्ष्यका साथ यस क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरण गर्ने उद्देश्य राखेको एस्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौँडामा विगत दुई वर्षदेखि आफ्ना गतिविधिहरूलाई अगाडि बढाइरहेको छ ।
शिक्षा क्षेत्रमा दशकदेखि विभिन्न निकायमा प्रत्यक्ष रूपमा संलग्न तथा अनुभव प्राप्त विविध क्षेत्रका प्राज्ञिक तथा विज्ञ व्यक्तिहरुको बीचमा विचार विमर्श, अध्ययन तथा अनुसन्धान पश्चात यस फाउन्डेसनको अवधारणा अघि सारिएको हो ।