१४ फागुन २०८०
मुलुकभरका बालबालिकालाई दादुरा, रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत् मकवानपुर जिल्लामा खोप लगाइएको छ । मकवानपुरगढी गाउँपालिकामा पनि दादुरा रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत् ९ महिनादेखि ५ वर्षसम्मका १ हजार ९ सय ४ जना लक्षित बालबालिकालाई फागुन १८ गतेसम्म खोप लगाइनेछ ।
खोप अभियानको प्रथम दिन पालिका अध्यक्ष दोर्जे लामास्यांतान, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की,४ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य एकाईं प्रमुख लक्ष्मण दाहालसहित उपस्थितिमा वडा–४ को मनकामना मन्दिर खोपकेन्द्रमा २९ महिनाकी तिलिजा गोलेको खोपकार्ड आमालाई र भ्याक्सिन क्यारिएर खोप कार्यकर्ता इन्दिरा मैनालीलाई हस्तान्तरण गरि कार्यक्रमको औपचारिक सुरु गरिएको छ ।
लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा तथा रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट संक्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने, दादुरा–रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनिया हुने इन्सेफलाइटिक्स हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्यु हुनसक्ने भएकाले खोप अभियान सञ्चालन गरिएको हो ।
पालिका उपाध्यक्ष मानकुमारी पाख्रिननेपालीले स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, सिअनमि निरीक्षक गायत्री सापकोटा , मक्राञ्चुली सामुदायिक स्वास्थ्य एकाईं प्रमुख नारायणप्रसाद घोरसाइनीलगायतको उपस्थितिमा ३९ महिनाका कृतिष घिमिरेका आमालाई खोपकार्ड र खोप कार्यकर्ता चन्द्रकला पौडेललाई भ्याक्सिन क्यारिएर हस्तान्तरण गरी खोप कार्यक्रम शुरु गरिएको छ ।