काठमाडौँ : उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ।
नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो। नेपालका लागि पहिलोपटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन्। यस्तै अनिता बस्नेत, सरू लिम्बू, अनिता केसी र रश्मिकुमारी घिसिङले एक एक गोल गरे। लाओसले एउटा आत्मघाती गोल गरेको थियो।
नेपालले पहिलो हाफमा २–० गोलको अग्रता लिएको थियो। सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले पहिलो हाफमा लाओसविरुद्ध २–० गोलको अग्रता लिएको थियो। नेपालले खेलको सुरुआतमा नै अग्रता बनायो।
खेलको १२औँ मिनेटमा अनिताले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि उनले गोल गरिन्। यस्तै खेलको ४४औँ मिनेटमा नेपालका लागि अनिताको क्रसमा सावित्राले गोल गरिन्।
दोस्रो हाफमा नेपालले थप ६ गोल गरेको थियो। खेल शुरु भएको दोस्रो मिनेटमै नेपालका लागि सरु लिम्बूले गोल गरिन्। यस्तै खेलको ५५औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। उनले खेललाई ४–० गोलको अवस्थामा पुर्याइन्।
त्यसलगत्तै रश्मिकुमारी घिसिङले गोल गरिन्। नेपालले खेलको ७५औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यसको एक मिनेटपछि साम्बाले नै व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ६–० गोलको अग्रता दिलाइन्।
यस्तै खेलको ८३औँ मिनेटमा नेपालका लागि अनिता केसीले गोल गरिन्। नेपालले ८–० गोलको अग्रता बनायो। खेलको ८८औँ मिनेटमा साम्बाको प्रहार लाओसका खेलाडीको गोडामा लाग्दै गोलमा परिणत भयो।
योसँगै नेपालले तीन अङ्क जोडेको छ। आजको खेल नेपालले १००औँ अन्ताराष्ट्रिय खेल हो। नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई आज आराम गर्न दिइएको थियो।
नेपाल रहेको समूह ‘एफ’ मा लाओसका साथै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन्।

