कैलाशमा स्वास्थ्य सेवा विस्तार : नयाँ सामुदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन

२१ साउन २०८२

मकवानपुर, कैलाश — कैलाश गाउँपालिका–१०, बेतिनीमा निर्मित नयाँ सामुदायिक स्वास्थ्य क्लिनिक भवनको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले रिबन काटेर भवन उद्घाटन गरे।

अध्यक्ष मुक्तानले स्वास्थ्य तथा सरसफाई क्षेत्रमा साझेदारी संस्थासँग सहकार्य गर्दै आएको बताउँदै आगामी दिनहरूमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। “स्वास्थ्य, शिक्षा र खानेपानी जस्ता आधारभूत सेवा विस्तारका लागि गाउँपालिकाले १२ भन्दा बढी संस्थासँग साझेदारी गर्दै आवश्यक बजेट विनियोजन गरिसकेको छ”, उनले बताए।

कार्यक्रममा अध्यक्ष मुक्तानले होम डेलिभरी न्यूनीकरण गर्ने लक्ष्यअनुसार चालु आर्थिक वर्षमै वडा नम्बर ६ र १० मा प्रसूति सेवा सुरु गर्ने तयारी गरिएको जानकारी पनि दिए।

सामुदायिक क्लिनिकको भवन प्रेम सेवा समाजको पहलमा निर्माण गरिएको हो। समाजकी अध्यक्ष मीरा स्याङ्तानका अनुसार, तीन कोठे भवन निर्माणमा कुल १९ लाख ९६ हजार ९२४ रुपैयाँ खर्च भएको छ। यसमा कैलाश गाउँपालिकाले १० लाख, बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ लाख र समाज आफैले ४ लाख ९६ हजार ९२४ रुपैयाँ लगानी गरेका थिए।

उद्घाटन समारोहमा वडा अध्यक्ष सुर्यबहादुर ब्लोन, समाजका कोषाध्यक्ष तथा कार्यपालिका सदस्य सुन्तली सुनुवार, प्रमुख दाता डा. चन्द्रन, शान्ति नेपालका अध्यक्ष विद्या मालाकार, सल्लाहकार डा. कृष्णमान शाक्य, कार्यकारी निर्देशक फूलमान शर्मा, संस्थापक अध्यक्ष वीरबहादुर सिंतान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

कार्यक्रममा स्वास्थ्य सेवा विस्तारमा योगदान गर्ने संस्थाहरू—गाउँपालिका, शान्ति नेपाल, प्रमुख दाता डा. चन्द्रन, र एक कठ्ठा जग्गा दान गर्ने नेपाल इसाई मण्डली स्मुर्ना मण्डलीलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *