स्वास्थ्य बीमामा देखिएका समस्याबारे यातायात मजदुर संघ मकवानपुरको गम्भीर ध्यानाकर्षण, ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

मकवानपुर  २०८२ साउन २०

राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य बीमा सेवामा देखिएका गम्भीर समस्याप्रति ध्यानाकर्षण गराउँदै नेपाल सरकार अन्तर्गत स्वास्थ्य बीमा बोर्डलाई ज्ञापनपत्र बुझाएको छ। संघका अध्यक्ष काजीमान तितुङको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा सात बुँदे माग सहित सेवा सुधारको लागि तत्काल पहल गर्न अनुरोध गरिएको छ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९(६) र नियमावली २०७५ अनुसार बीमित सेवाग्राहीले प्राप्त गर्ने सेवामा हाल आएको अव्यवस्थाले विशेषगरी मकवानपुर जिल्लाका नागरिकहरू मर्कामा परेका छन्। अध्यक्ष तितुङले खुद आफैं पनि हेटौंडा अस्पतालबाट सेवा लिँदा स्वास्थ्य अधिकृतको लापरवाही, रिफर प्रक्रियाको जटिलता र समय व्यवस्थापनको अभावका कारण पीडित बन्नुपरेको उल्लेख गरेका छन्।

सामुदायिक हेटौंडा आँखा अस्पताल तथा सरकारी हेटौंडा अस्पतालबीचको समन्वय अभावले आँखाजस्तो संवेदनशील अंगको उपचारमा सेवाग्राहीहरु हैरानीमा परेको जनाउँदै संघले यस समस्यालाई तत्काल समाधान गर्न माग गरेको हो।

संघले स्वास्थ्य बीमा सेवामा देखिएको समस्याको सम्बोधन नभए पत्रकार सम्मेलनमार्फत चरणबद्ध संघर्षको घोषणा गर्ने चेतावनी समेत दिएको छ।

संघका सात बुँदे प्रमुख माग यसप्रकार छन्:

१. हेटौंडा अस्पतालमा आँखाको सेवा विस्तार गरी सञ्चालन गर्नुपर्ने।
२. पुरानै व्यवस्था अनुसार सामुदायिक हेटौंडा आँखा अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवाविन्दु कायम गर्नुपर्ने।
३. हेटौंडा अस्पताल र सामुदायिक आँखा अस्पतालबीचको विवाद अन्त्य गर्नुपर्ने।
४. सामुदायिक आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा लागू गर्नुपर्ने।
५. निजि अस्पतालमा समेत रिफर खारेजको व्यवस्था लागू गर्नुपर्ने।
६. रिफरको समय र टोकन वितरण प्रक्रियालाई व्यावहारिक र प्रभावकारी बनाउनु पर्ने।
७. हालको ३ महिनाको सेवा अवधिलाई परिमार्जन गर्नुपर्ने।

संघले नागरिकको मौलिक स्वास्थ्य अधिकारलाई सम्मान गर्दै बीमितहरूले सहज, समयमै र गुणस्तरीय सेवा पाउनुपर्नेमा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *