स्वास्थ्य बीमामा सुधारको माग गर्दै यातायात मजदुर संघको ७ बुँदे ज्ञापनपत्र स्वास्थ्य बीमा बोर्ड मकवानपुरमा बुझाइयो

हेटौंडा, मकवानपुर | २०८२ साउन २१

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (राप्रपा निकट) अन्तर्गतको राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य बीमा प्रणालीमा देखिएका गम्भीर समस्याहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै ७ बुँदे मागसहितको ज्ञापनपत्र नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड मकवानपुरमा बुझाएको छ।

ज्ञापनपत्रको बाचन संघका केन्द्रीय सदस्य तथा जिल्ला सचिव दिनेश लामाले गर्नु भएको थियो भने उक्त ज्ञापनपत्र स्वास्थ्य बीमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्का समक्ष ट्रेड युनियन मकवानपुरका जिल्ला अध्यक्ष रामहरि खतिवडा र यातायात मजदुर संघका जिल्ला अध्यक्ष काजीमान तितुङले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा संघका पदाधिकारीहरू प्रचण्ड राजथला, सम्झना मोक्तान, सन्चमाया थिङ, ददिलाल नेपाल, मनोहर नेपाल तथा वरिष्ठ सल्लाहकार रामप्रसाद कोईरालाको उपस्थिति रहेको थियो।

संघले प्रस्तुत गरेको ज्ञापनपत्रमा विशेष गरी हेटौंडा अस्पताल र सामुदायिक हेटौंडा आँखा अस्पतालबीच देखिएको समन्वय अभाव, रिफर प्रक्रियाको जटिलता, तथा बीमित सेवाग्राहीहरू आँखाको उपचारबाट वञ्चित भएको गुनासोलाई प्रमुख विषय बनाइएको छ।

ज्ञापनपत्रमा राखिएका ७ प्रमुख मागहरू यस्ता छन्:

१. हेटौंडा अस्पतालमा आँखाको सेवा विस्तार गरी सञ्चालन गर्नुपर्ने।
२. सामुदायिक हेटौंडा आँखा अस्पताललाई पुनः प्रथम सेवाविन्दु मान्यता दिनुपर्ने।
३. दुई अस्पतालबीचको विवाद तत्काल अन्त्य गरिनु पर्ने।
४. सामुदायिक आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा पूर्णरूपमा लागू गर्नुपर्ने।
५. निजि क्षेत्रका अस्पतालमा पनि रिफर खारेजको व्यवस्था लागू गरिनुपर्ने।
६. रिफर समय र टोकन वितरण प्रणालीलाई सुधार गर्नुपर्ने।
७. हालको ३ महिनाको सेवा प्रारम्भ अवधि परिमार्जन गरिनुपर्ने।

संघले जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न बीमा प्रणाली सहज, सर्वसुलभ र प्रभावकारी बनाउनु सरकारको दायित्व भएको बताउँदै, समयमै समस्याहरू सम्बोधन नभए पत्रकार सम्मेलनमार्फत चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *