मकवानपुरकी मेनुका दाहाल बागमती प्रदेशकी सर्वोत्कृष्ट महिला व्यवस्थापक घोषित

 

 हेटौंडा, श्रावण २६, २०८२

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको छैठौँ स्थापना दिवसको अवसरमा यसपालि मकवानपुरकी मेनुका दाहाललाई प्रदेशकै सर्वोत्कृष्ट महिला व्यवस्थापक घोषणा गरिएको छ। दाहाल जागरण बचत तथा ऋण सहकारी संस्था, मकवानपुरगढी गाउँपालिका–३ की व्यवस्थापक हुन्।

संघले सार्वजनिक गरेको विवरण अनुसार, प्रदेशका १३ जिल्लाका विभिन्न सहकारी संस्थामा कार्यरत महिला व्यवस्थापकहरूमध्ये दाहाललाई सबैभन्दा उत्कृष्ट ठहर गर्दै सम्मान प्रदान गरिन लागेको हो।

एक दशकदेखि सहकारी क्षेत्रमा क्रियाशील रहेकी दाहाल व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गरेकी छिन्। २०७२ सालदेखि जागरण सहकारीमा कार्यरत दाहालले संस्थाको सुरुवातमा रहेको ४ करोड रुपैयाँको कारोबारलाई हाल २२ करोड ५० लाख रुपैयाँसम्म पुर्‍याएकी छिन्।

“संस्थामा काम गर्न थालेको सुरुवातमा थोरै स्रोत साधन थियो, तर अहिले व्यवसायिकरूपमा सुदृढ सहकारी बनाउने सपना पुरा हुँदैछ,” दाहाल भन्छिन्।

उनको नेतृत्वमा संस्थाले तीनपटक नेपाल स्तरको प्रोवेशन ब्राण्ड (२०७५ देखि २०७७ सम्म) प्राप्त गरेको छ। साथै, जिल्ला बचत संघ मकवानपुरबाट उत्कृष्ट मिश्रित साकोस को रूपमा सम्मानित हुनुका साथै नेफ्स्कुनबाट सर्वोत्कृष्ट संस्था को उपाधि समेत पाएको छ। मकवानपुरगढी गाउँपालिकाबाट दुईपटक सर्वोत्कृष्ट सहकारी संस्था को सम्मान पनि यस संस्थाले पाइसकेको छ।

मेनुका दाहालको पहलमा संस्थाले महिला सदस्यहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, आर्थिक रूपमा कमजोर बाल सदस्यहरूलाई छात्रवृत्ति वितरण जस्ता सामाजिक कार्यक्रमहरू पनि जारी छन्।

वित्तीय साक्षरताका क्षेत्रमा समेत अग्रसर दाहालले लेखा व्यवस्थापन, धितो मूल्याङ्कन, संस्था विकास, कर व्यवस्थापन, बजेट निर्माण लगायतका दर्जनौं तालिमहरू लिएकी छिन्। “तालिम सिक्ने माध्यम हो, जति सिके उत्तिनै ज्ञान बढ्छ,” दाहालको भनाइ छ।

मकवानपुरगढीको मक्रान्चुलीमै जन्मिएकी मेनुका दाहालले आफ्नै गाउँबाट सहकारी अभियान सुरु गर्दै प्रदेशस्तरमै उदाहरणीय सफलता प्राप्त गरेकी हुन्। उनी हाल एक प्रेरणादायी महिला व्यवस्थापक को रूपमा सहकारी क्षेत्रको अनुकरणीय नाम बन्न सफल भएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *