“उम्मेदवार विजय गौतमलाई बकैयाबासीको अपार माया, सडकमै निस्केर गरे सम्मान”

१६ फागुन २०८२
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार विजय गौतमले शनिबार बकैया गाउँपालिकामा घरदैलो भेटघाट, र्‍याली तथा चुनावी सभा गरेका छन्।
बकैयाको श्रीपुरबाट सुरु भएको र्‍यालीमा सयौँ शुभेच्छुकहरूको सहभागिता रहेको थियो। र्‍याली श्रीपुर हुँदै जुरेली, छतिवन, तामाखोला, हात्तीसुडे, जलजले र चिसापानीसम्म पुगेको थियो। विभिन्न चोक–चोकमा स्थानीय बासिन्दाले घडा राखी अबिर र माला लगाएर उम्मेदवार गौतमलाई सम्मान गरेका थिए।
बकैयामा देखिएको जनउत्साहले विजयको जित सुनिश्चित भइसकेको अनुभूति भएको स्थानीय विशाल अधिकारीले बताए। उनका अनुसार विजयजस्ता उम्मेदवार पाउनु मकवानपुर–१ का मतदाताका लागि भाग्यको कुरा हो।
पछिल्लो समय विजय गौतमको पक्षमा जनलहर बढ्दै गएको बताइएको छ। शुक्रबार बागमती गाउँपालिकाका विभिन्न वडामा गरिएको घरदैलो र चुनावी सभामा पनि उल्लेख्य सहभागिता रहेको थियो। बागमती गाउँपालिका नेपाली कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ भने बकैया विजयको गृहपालिका भएकाले यस क्षेत्रबाट प्राप्त हुने जनसमर्थन मतमा परिणत हुनेमा कार्यकर्ता विश्वस्त छन्।
त्यस्तै, मकवानपुरगढी गाउँपालिकाका चार वटा वडा र हेटौँडा उपमहानगरपालिकाका १५ वटा वडाबाट पनि विजय गौतमले राम्रो मत प्राप्त गर्ने अपेक्षा गरिएको युवा बुद्धिजीवी निबन्ध लामाले बताए। उम्मेदवारको स्वच्छ छवि, जिन्जी आन्दोलनको भावना समेट्ने युवा र बौद्धिक व्यक्तित्वका कारण विजय गौतम क्षेत्र नम्बर–१ का मतदाताको रोजाइमा पर्ने उनको भनाइ छ। चुनाव नजिकिँदै जाँदा नेकपाको पक्षमा जनलहर आएको छ उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *