हेटौँडा/ सडक विभागको एडीबी आयोजना निर्देशनालयले हेटौँडा बजार क्षेत्रमा भएको सडक विस्तार र संरचना हटाउने कार्य आफूअन्तर्गतको परियोजना नभएको प्रस्ट पारेको छ ।
हेटौँडा बजार क्षेत्रमा विभागले प्रशासनको सहयोगमा डोजर चलाएर संरचना भत्काएको थियो । स्थानीय जनप्रतिनिधिसहितले एसियन हाइवे एडीबीको परियोजना भएको चर्चा चलाए पनि त्यो सत्य नभएको पाइएको हो ।
विभाग आयोजना निर्देशनालय (एडीबी) का उपआयोजना निर्देशक प्रदीपराज शाक्यका अनुसार हाल हेटौँडा बजारमा भइरहेको सडक विस्तारको काममा एडीबीको कुनै संलग्नता छैन । यो कार्य सडक विभागले आफ्नै योजना अनुसार अघि बढाएको उनले बताए ।
सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सार्वजनिक सूचना जारी गरी सडक सीमाभित्रका घरटहरा र संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो, सोहीअनुसार मंसिर २० गते शनिबार बुद्धचोक, रातोमाटेदेखि राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको क्षेत्रमा सडकको केन्द्रबाट २५र२५ गज भित्रका संरचना हटाइएको थियो ।
स्थानीय घरधनीले सर्वोच्चमा निवेदन दिएपछि संरचना नहटाउन र यथास्थितिमा राख्न विपक्षीका नाममा मंसिर १९ गते शुक्रबार ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो, तर प्रशासनले शुक्रबार सूचना नआएको भन्दै शनिबार बिहानैबाट डोजर चलाएको थियो ।
उक्त अल्पकालीन अन्तरिम आदेशमा अदालतले दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न बोलाएको थियो । त्यस्तै मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो । सोही आदेशअनुसार पुस २ गतेका लागि पेसी तोकिएकोमा हेर्न नमिल्ने भएको थियो ।
एउटै प्याकेजबाट पछि हटेको थियो एडीबी, बाइपासको सम्भावना
एडीबीको ऋण सहयोगमा एसियन हाइवे परियोजनाअन्तर्गत पहिले पथलैयादेखि नारायणगढसम्म नै एउटै प्याकेजमा सडक विस्तार गर्ने योजना भए पनि हेटौँडा बजार क्षेत्रमा लामो समयदेखि मुद्दा–मामिला र विवादका कारण यो खण्ड हालको परियोजनाबाट बाहिरिएको उपनिर्देशक शाक्य बताउँछन् । ‘लामो समयको विवाद र अध्ययन हुन नसकेकाले हाललाई बजार क्षेत्रलाई परियोजनामा समावेश गरिएको छैन,’ उनले भने ।
भविष्यमा पथलैयादेखि हेटौँडासम्मको खण्डका लागि बाइपास निर्माणको सम्भावना रहेको तर त्यसको टुंगो लागिनसकेको उनले जानकारी दिए । ‘अर्को चरणमा पथलैयासम्मको काम हुँदा बाइपास जाने कि यही बजारबाट विस्तार गर्ने भन्ने निर्णय हुन्छ, त्यसको अध्ययन गर्न बाँकी छ । तर बाइपासको सम्भावना पनि बाँकी छ,’ उनले भने ।
के गर्दै छ एडीबी ?
उपआयोजना निर्देशक शाक्यका अनुसार एडीबीको ऋण सहयोगमा सञ्चालन भइरहेको एसियन हाइवे परियोजनाको हालको चरणमा राप्ती पुलदेखि नारायणगढको गोन्द्राङसम्मको सडक खण्ड मात्र पर्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले यस खण्डको स्तरोन्नति तथा विस्तार कार्यलाई तीव्रता दिने जनाएको छ ।
‘हाम्रो अहिलेको परियोजना राप्ती पुलबाट उता (नारायणगढतर्फ) को लागि हो,’ शाक्यले थपे, ‘त्यस क्षेत्रमा ४ लेनको सडक, सर्भिस लेन र गोन्द्राङ–टिकौली जंगल क्षेत्रमा फ्लाइओभर समेत निर्माण हुनेछ ।’ रातोपाटीबाट साभार ।


